टिकटकले गर्दा इन्टरनेट स्लो

सेवा प्रदायकहरुले इन्टरनेटको स्पीड स्लो हुनुमा आफूहरुको मात्रै कमजोरी नभएको बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ) नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले विदेशबाट ल्याउने व्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एप लगायतमा आउने समस्याका कारणले गर्दा समेत इन्टरनेट स्लो हुन सक्ने बताएका हुन्।

अन्तरक्रियामा सुबिसु केवल नेट प्रालीका सीईओ विनयमोहन साउदले भारतका टाटा, एअरटेल लगायतका कम्पनीमा समस्या आउँदा, कुनै सेवा क्षमता भन्दा धेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुणस्तर आदि कारणले पनि इन्टरनेट स्लो हुन सक्ने बताए।



‘ग्राहकको गुनासो जायज नै हो, इन्टरनेट सेवा प्रदायकहरुले चर्को प्रतिष्पर्धाका कारण आफूसँग भएको क्षमताभन्दा धेरै एमबीपीएस दिन्छु भनेका पनि हुन सक्छन्, तर धेरै समस्या हाम्रो कारणले मात्रै आएका हुँदैनन्। हामी त उपभोक्ता र सर्भर वा एपबीचको पूल मात्रै हौं । तीन वटा पक्षमध्ये एउटामा समस्या आयो भने इन्टरनेट स्लो हुन्छ, तर गाली खाने हामी मात्रै हुन्छौं,’ सीईओ साउदले भने ।

साउदले ग्राहकको गुनासो सम्बोधनका लागि सबै सेवा प्रदायकले काम गरिरहेको र यसमा आफूहरुको पहलले मात्रै पुर्ण समाधान नआउने बताए ।‘कुनै बेला फेसबुक, युट्युब, टिकटक लगायतका प्लेटफर्ममै समस्या आएको हुन्छ। तर उपभोक्ताले इन्टरनेट सेवा प्रदायकलाई दोषी ठान्नुहुन्छ। हामीले फेसबुक, टिकटक, युट्युबको समस्या समाधान गर्न सक्दैनौं नि,’ उनले अगाडि भने ।

यस्तै भायनेट कम्युनिकेसन प्रालीका प्रबन्ध निर्देशक विनय बोहोराले इन्टरनेट स्लो हुने उपभोक्ताको गुनासो कहिल्यै पनि अन्त्य नहुने बताए । ‘अहिले टिकटकको कारण नै इन्टरनेट स्लो भएको छ। भोलि यस्तै अर्को एप आउला। धेरे इन्टरनेट खपत गर्ने साइट आउला । त्यो बेला पनि इन्टरनेट केही स्लो हुन सक्छ । त्यसैले यसको गुनासो पूर्ण रुपमा समाधान हुन सक्दैन । हामीले कम गर्दै लैजाने हो,’ बोहोराले भने ।

अहिले ८० प्रतिशत इन्टरनेट खपत भिडियोमै रहेको र यो बढ्दो क्रममा रहेकाले आउँदा दिनमा कसरी गुणस्तरीय इन्टरनेट दिने भन्ने विषय चुनौतीपूर्ण रहेको बोहोराको भनाई छ । ‘हामीकहाँ इन्टरनेटको खपत धेरै बढेपनि त्यसलाई व्यवस्थापन गर्ने पूर्वाधार र उपकरण छैनन्, व्यान्डविथ पनि विदेशबाट ल्याउनुपर्छ।हामीले भारतबाट किन्छौं । उता समस्या आएमा यता नेपालमा इन्टरनेट स्लो हुन्छ वा बन्द हुन्छ । त्यसमाथि नेपालको भौगोलिक विकटताले पनि समस्या पारेको हुन्छ,’ उनले भने ।

प्रबन्ध निर्देशक बोहराले ठूला प्लेटफर्मका सर्भर र एक्सचेञ्ज नेपालमा राख्न सकेमा इन्टरनेट सेवा प्रदायकलाई गरिने आलोचना केही कम हुने आशा व्यक्त गरे ।कहिलेकाँही प्रतिस्पर्धाको नाममा इन्टरनेट सेवा प्रदायकबीच हुने अस्वस्थ प्रतिष्पर्धाका कारण पनि ग्राहकले गुणस्तरीय इन्टरनेट नपाएको हुन सक्ने बोहोराले स्वीकारे।

सम्बन्धित समाचार