नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ भदौ ।

सधैंका वर्षहरूझैँ यस वर्ष पनि किसानहरूले समयमै मल पाउन सकिरहेका छैनन् । धानमा मल हाल्नुपर्ने बेला मलको चरम अभाव भएपछि किसानहरू चिन्तित बनेका छन् । किसनाका समस्यामा सरकार सधै उदासिन बन्ने गरेको भन्दै सरकारको चर्को आलोचना समेत भइरहेको छ । किसानलाई समयमै मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला कृषि मन्त्रालयले सम्झौताअनुसार रासायनिक मल नल्याउने दुई ठेकेदारसँगको सम्झौता रद्द गर्न लागेको छ । मन्त्रालयले धरौटी जफत गरी सम्झौता रद्द गर्न कृषि सामग्री कम्पनीलाई निर्देशन दिएको छ ।
कृषि सामग्री कम्पनीले शैलुङ इन्टरप्राइजेज र होनिको इन्टरप्राइजेजलाई २५–२५ हजार टन रासायनिक मल ल्याउने ठेक्का दिएको थियो । सम्झौताअनुसार भदौं २० गतेसम्म मल ल्याइसक्नुपर्ने भए पनि ठेकेदारले समयमै मल ल्याउन सकेनन् । मलको ठेक्का हात पार्ने शैलुङ इन्टरप्राइजेज मल ढुवानीको अनुभव नभएको निर्माण क्षेत्रमा समयमा काम नगरी ठेक्का मात्र ओगटेका कारण बदनामी कमाएका शारदाप्रसाद अधिकारीको कम्पनी हो । अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी हुन् । त्यस्तै होनिको इन्टरप्राइजेज पनि मल ढुवानीको अनुभव नभएको हुमनाथ कोइरालाको कम्पनी हो । उनी नेपाली कांग्रेस निकट ठेकेदार मानिन्छन् ।
धान खेतमा हाल्नुपर्ने युरिया मलको चरम अभाव भएपछि केही दिनअघि मात्रै सरकारले बङ्गलादेशसँग ५० हजार टन युरिया मल उपलब्ध गराइदिन आग्रह गरेको छ । तर बङ्गलादेशले पनि मल उपलब्ध गराउने आश्वासन दिए पनि कहिले आइपुग्छ भन्ने कुनै टुङ्गो छैन ।
विप्लव समूहको निशानामा ठेकेदार
प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भ्रष्ट कर्मचारी र ठेकेदारलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । शनिबार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले एक विज्ञप्ति जारी गर्दै मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकेदार र रेल विभागका महानिर्देशकलाई कारबाही गर्न सरकारसँग माग गरेको हो । यदि सरकारले तुरून्तै कारवाही नगर्ने हो भने जनताको आक्रोश र कारबाहीको मागको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्ने चेतावनी दिएको छ । साथै, बोल कबोल अनुसार सम्बन्धित ठेकदारले मल आपूर्ति नगर्दा, लाखौंलाख किसानको धान बाली बिग्रिँदा र देशको उत्पादनमा ठूलो नोक्सानी हुँदासमेत सरकार र कृषि मन्त्रालयले ठेकदारलाई कारबाहीको त के कुरा, सोधपुछसमेत नगरेको प्रकाण्डको आरोप छ ।

