उपत्यकामा जारी निषेधाज्ञालाई दशैंसम्म निरन्तरता दिन सीडीओको आग्रह

निषेधाज्ञाको सम्बन्धमा ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायणप्रसाद भट्टले दशैंसम्म लम्ब्याउनुपर्ने बताएका छन्। संसद्को ‘शिक्षा तथा स्वास्थ्य समिति’अन्तर्गतको उपसमितिको आइतबार बसेको बैठकमा ललितपुरका सीडीओ भट्टले दशैंसम्म निषेधाज्ञा लम्ब्याउनुपर्ने बताएका हुन् । संक्रमणको दर बढिरहेकाले जोखिम कम गर्न दशैँसम्म अहिलेकै अवस्थालाई निरन्तरता दिनुपर्नेमा उनको जोड थियो ।

समितिमा भट्टले भने, ‘हाम्रो अगाडि चाडबाड आइरहेको छ । दशैंजस्तो ठूलो चाड आएको छ । जाडबाड, जात्रा भनेपछि मानिस ज्यान छाड्न पनि तयार हुने रहेछन्, त्यो देखिरहेका छौं । त्यतिवेला पनि त्यस्तो हुन सक्छ । दशैंसम्म केही फ्लेक्जिबल बनाएर भए पनि अहिलेको अवस्थालाई कायम राख्नुपर्छ । चाडबाडमा मानिसहरूको आवतजावत धेरै हुन्छ । दशैंमा ठूलाबडाको हातको टिको त थाप्नैपर्छ जसरी भएपनि भन्ने हुन्छ । आशीर्वाद लिनुपर्छ भन्ने खालको सेन्टिमेन्टमा अवस्था झनै भयावह हुन सक्छ । त्यसकारण योचाहिँ दशैँसम्म लैजानैपर्छ ।’



तिजजस्ता चाडबाडमा पनि निषेधाज्ञा गरेका कारणले नै कोरोना संक्रमण कम भएको भट्टको भनाइ थियो । ‘कोरोना संक्रमण द्रुत रूपमा बढ्ने हो कि भन्ने अनुमान त थियो । त्यसकारण निषेधाज्ञा गरियो । पुनः अलि खुकुलो बनाइयो । जनजीवनका अप्ठ्यारालाई टोलरेट गरेर भए पनि कोभिडलाई बढ्न दिनुहुँदैन । निषेधाज्ञा गरेपछि कोभिड संक्रमण घट्ला भन्ने पनि थियो, तर त्यस्तो भएन । बढिरहेको अवस्था छ । तर, निषेधाज्ञा नगरेको भए संक्रमितहरू झनै धेरै बढ्न सक्थे,’ उनले भने ।

सम्बन्धित समाचार