मन्त्रिपरिषद् पुर्नगठन भदौभित्रैः गौतम र श्रेष्ठलाई मन्त्रिपरिषद्मा नलगिने, को को बन्दैछन् मन्त्री ?

पछिल्लो मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई निर्देशन दिंदै तत्काल मन्त्रिपरिषद् पुर्नगठन नहुने भन्दै कार्यसम्पादन सुधार्न निर्देशन दिएको नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अन्ततः भदौभित्र मन्त्रिपरिषद् पुर्नगठन गर्नेगरी तयारी थालेका छन् । विवाद समाधान कार्यदलको सुझावविपरीत तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीसँग २ पटक लामो फोनसंवाद गरी तत्काल मन्त्रिपरिषद् पुर्नगठनको तयारी थाल्न आग्रह गरेका थिए ।

पार्टी सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय गरे पनि सरकारको तर्फबाट राष्ट्रपतिलाई सिफारिसको लागि पत्र नपठाएकोमा पनि प्रचण्डले ओलीसँग जवाफ मागेका थिए । ओलीले निर्वाचन हारेकालाई राष्ट्रियसभामा लगेर मन्त्री बनाउन खोजियो भनेर विवाद भएकोले केही दिनमा सिफारिस गर्ने बताएका थिए । तत्काल सरकारविरोधीको आवाज ठूलो भएको बेलामा मन्त्रिपरिषद् पुर्नगठन गर्दा झन् विवाद हुने भएकोले केही समय लिएर मन्त्रिपरिषद् पुर्नगठन गर्दा राम्रो हुने ओलीले बताएका थिए । तर प्रचण्डले त्यसो गर्दा पार्टीमा विवाद कायमै रहेको सन्देश जाने भन्दै गौतमबारे तत्काल र भदौभित्र मन्त्रिपरिषद् पुर्नगठन गर्न आग्रह गरेका छन् ।



ओलीले प्रचण्डसँग यसपटक प्रतिनिधिसभा निर्वाचन हारेका गौतम र नारायणकाजी श्रेष्ठलाई सरकारमा नलैजान प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावमा प्रचण्डले ‘नारायणकाजीलाई सम्झाउने जिम्मा मेरो भयो, गौतमलाई तपाईं सम्झाउनुस्’ भन्ने जवाफ दिएको स्रोतको दाबी छ । समग्रमा ओली र प्रचण्डबीच गौतम र श्रेष्ठलाई पार्टीमै जिम्मेवारी दिएर महासचिव विष्णु पौडेललाई सरकारमा सहभागी गराउने गरी भदौभित्रै मन्त्रिपरिषद् पुर्नगठन गर्ने समझदारी बनेको बताइन्छ ।

मन्त्री बन्न खुट्टा उचालेर बसेका उपाध्यक्ष गौतमलाई विभिन्न स्रोतमार्फत यसपटक पार्टी र महाधिवेशनमै आफ्नो भूमिका केन्द्रित गर्न आग्रह गरेका छन् । उनले गौतमलाई मनाउन उनकी पत्नी तुलसा थापालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाउने प्रलोभनसमेत दिएका छन् । तर गौतमले यसबारे ओली र प्रचण्ड दुबैलाई कुनै प्रतिक्रिया दिएका छैनन् । राष्ट्रियसभामा सिफारिस भएपछि मात्र गौतम ओलीसँग थप कुराकानी गर्ने बताउने गरेको उनको सचिवालय स्रोतले जानकारी दियो ।

को को बन्दैछन् मन्त्री ?
अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिएपछि ओलीले अर्थमा आफ्नो विश्वासिलो मान्छे ल्याउन चाहेका छन् । त्यसैले पनि उनी अर्थमा महासचिव पौडेललाई ल्याउन चाहेका छन् । पौडेललाई अर्थमन्त्री बनाउने विषयमा प्रचण्डले पनि ग्रिन सिग्नल दिएका छन् । त्यसैगरी एमसीसीको चर्को विरोध गरिरहेका डा. भीम रावललाई परराष्ट्रको जिम्मेवारी दिने र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने विषयमा पनि ओली प्रचण्डबीच कुरा फाइनल भएको स्रोतले बतायो ।

त्यसैगरी पम्पा भुषाल, सोमप्रसाद पाण्डे, जनार्दन शर्मा, वेदुराम भुषाल, हरिबोल गजुरेल, सुरेन्द्र पाण्डे, देवेन्द्र पौडेललगायतका नेतालाई पनि मनित्रपरिषद्मा सहभागि गराइने चर्चा छ । यता दुई कार्यकाल प्रतिनिधिसभामा निर्वाचित भएर पनि अवसर नपाएका विरोध खतिवडा, गणेश पहाडी, यज्ञराज सुनुवार, विजय सुब्बा, गणेश ठगुन्ना, विशाल भट्टराई, राजबहादुर बुढा, प्रेम आलेलगायतलाई पनि सम्भव भएसम्म अवसर दिने तयारीमा ओली प्रचण्ड रहेका छन् ।

यता दुई वर्ष कार्याकाल पूरा गरेका १० जना मन्त्रीको पद भने धरापमा रहेको बताइन्छ । साथै कार्यसम्पादन कमजोर भएका मन्त्रीलाई पनि हटाउने र केहीको जिम्मेवारी हेरफेर गर्ने प्रधानमन्त्री ओलीको तयारी रहेको छ ।

 

सम्बन्धित समाचार