नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ भदौ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो घरबेटी शारदाप्रसाद अधिकारीसँग गोरू बेचेको साइनो पनि नरहेको बताएका छन् । रासायनिक मल ल्याउने ठेक्का पाएको शैलुङ इन्टरप्राइजेज र होनिको इन्टरप्राइजेजले समयमै मल ल्याउन नसक्दा किसानलाई मलको चरम अभाव भएको भन्दै प्रचण्डका घरबेटीसमेत रहेका ठेकेदार शारदा अधिकारीसँग प्रचण्डको नाम जोडेर आलोचना हुदै आइरहेको छ । उक्त विषयलाई लिएर आइतबार जनता टेलिभिजनसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले आफ्नो घरबेटी अधिकारीसँग गोरू बेचेको साइनो पनि नरहेको बताएका हुन् ।
अधिकारीकै घरमा बस्दै आएका प्रचण्डले आफू नयाँ घर खोज्न थालेको समेत बताएका छन् । ‘ठेक्कापट्टासँग जोडेर पटकपटक मेरो घरभेटी भन्ने आइरहेको छ, मैले अब अर्को घर खोज्न थालेको छु’ उनले भने ‘कता ठेक्का लिन्छन, के गर्छन ? मलाई केही थाहाँ पनि छैन, बाटाहरूका ठेक्का त म यो घरमा आउनुभन्दा धेरै पहिलेका ठेक्का हुन् । मसँग कुनै गोरू बेचेको साइनो पनि छैन ।’ सरकारले किसानहरूलाई मल उपलब्ध गराउन नसकेपछि मलको चरम अभाव भइरहेको छ । मल प्रकरणमा आफ्नो पनि चासो रहेको उनले बताए । ‘मल प्रकरणबारे के भएको हो भनेर कृषिमन्त्रीसँग बुझ्ने क्रममा कसैले बदमासी गरको भए कारबाही गर्दा हुन्छ, त्यसमा मेरो कुनै आपत्ती छैन भनेको छु’ उनले भने ।
शैलुङ कन्सट्रक्सन र शैलुङ इन्टरप्राइजेजका प्रमुखसमेत रहेका अधिकारी र उनले लिने ठेक्कापट्टामा आफ्नो कुनै संलग्नता नरहेको प्रचण्डको दाबी थियो । यसैबीच आइतबार नै कृषि सामग्री कम्पनी लिमिटेडले तोकिएको समयमा रासायनिक मल आपूर्ति गर्न नसकेपछि शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिप्रपोज कम्पनीसँग भएको ठेक्का सम्झौता रद्द गर्दै धरौटी जफत गर्ने निर्णय गरेको छ ।

