नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ भदौ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकतान्त्रिक पद्धतिअन्तर्गत कार्यगर्दा केही प्रक्रियागत ढिलाइ भए पनि निरंकुशतन्त्रभन्दा लोकतन्त्र नै उत्तम हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार एक स्टाटस लेख्दै श्रेष्ठले ‘निरंकुश तानाशाहीतन्त्र छलफलको झञ्झटबाट मुक्त र छिटो काम हुने व्यवस्था लाग्न सक्छ, तर लोकतन्त्र नै उत्तम हुन्छ निरंकुशतन्त्र होइन’ भनेका छन् ।
उनले आफ्नो स्टाटसमा कुनै सन्दर्भ नखुलाए पनि स्वार्थ केन्द्रित अन्धचाकडीवाजहरूले प्रशंसा र भजन मात्रै गाएर डुबाउँने गरेको टिप्पणी समेत गरेका छन् । ‘आलोचनात्मक चेत भएका साँच्चैका हितैषीहरूले आफूले ठिक नदेखेको कुरा समयमै भन्छन् र गल्ती गर्न वा पतनबाट बचाउँछन्’ उनले लेखेका छन् ‘जब कि निहीत स्वार्थ केन्द्रित अन्धचाकडीवाजहरूले प्रशंसा र भजन मात्रै गाँउछन् र डुबाउछन् । त्यसैले आलोचनात्मक चेत भएका मित्रहरूमा भर गरौं, स्वार्थी अन्धप्रशंसकमा होइन ।’
उनले अगाडि थपेका छन् ‘विचारसहितको विवेक भएकाहरू मूर्खले जस्तो सुर्याइँ नदेखाउन सक्छन् र निर्णय एवं कार्य गर्नु अघि संशयकारी जस्ता देखिन सक्छन् । तर विचारसहितका विवेकीहरू नै सुरा मूर्खहरूभन्दा भरपर्नलायक हुन्छन् ।’
यस्तो छ उनको फेसवुक स्टाटस– आलोचनात्मक चेत भएका साँच्चैका हितैषीहरूले आफूले ठिक नदेखेको कुरा समयमै भन्छन् र गल्ति गर्न वा पतनबाट बचाउँछन्, जब कि निहीत स्वार्थ केन्द्रित अन्धचाकडीवाजहरूले प्रशंसा र भजन मात्रै गाँउछन् र डुबाउँछन् । त्यसैले आलोचनात्मक चेत भएका मित्रहरूमा भर गरौं, स्वार्थी अन्धप्रशंसकमा होइन । विचारसहितको विवेक भएकाहरू मूर्खले जस्तो सुर्याइँ नदेखाउन सक्छन् र निर्णय एवं कार्य गर्नुअघि संशयकारी जस्ता देखिन सक्छन् । तर विचारसहितका विवेकीहरू नै सुरा मूर्खहरूभन्दा भरपर्नलायक हुन्छन् । लोकतान्त्रिक पद्धतिअन्तर्गत कार्यगर्दा केही प्रक्रियागत ढिलाई हुन सक्छ । विचार सुन्ने सहिष्णुता र छलफल गर्ने धैर्यता चाहिन्छ लोकतन्त्रमा । निरंकुश तानाशाहीतन्त्र छलफलको ‘झञ्झट’ बाट मुक्त र छिटो काम हुने व्यवस्था लाग्न सक्छ । तर लोकतन्त्र नै उत्तम हुन्छ, निरंकुशतन्त्र होइन ।

