
आइतबार दिउसो धनगढीको गौरीफण्टा नाकामा ठुलौ भिडभाड थियो । स-साना ब्याग सहित नियास्रो मुख लगाएर थुप्रै नेपालीहरु लाईनमा लागेका थिए । उनीहरु भारत प्रवेशका लागि बिहानैदेखि लाइनमा थिए । त्यही लाईनमा थिए बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका का शंकर रावल । उनी श्रीमती र १ छोरी सहित ५ महिना पछि पुन भारत फर्किरहेका थिए ।
भारतमा कोरोना संक्रमण बढेपछि बैशाख १२ गते श्रीमती र छोरी सहित घर फर्केका शंकर घरमा आर्थिक अभाव भएपछि भारतमा कोरोनाको उच्च जोखिम बढीरहेका वेला पुन भारत फर्केका छन् । शंकरले भने-‘भारतमा कोरोनाको संक्रमण बढेपछि ज्यान बचाउन घर फर्किए, ५ महिना घर बसे तर घरमा कसरी गुजारा गर्ने भन्ने केही उपाय नदेखेपछि परिवार पाल्न भारत जाँदैछु।’ उनको घरमा आमाबुवा र दुई भाई बहिनी छन् । सबैको पालन पोषणको जिम्मा शंकरको नै हो ।
यस्तै त्यही लाईनमा रहेका बझाङको खप्तड छान्ना गाउँपालिकाका रोशन खड्काको पिडा पनि उस्तै छ । उनी जेठ १२ गते श्रीमती र ३ छोराछोरी सहित नेपाल फर्किएक थिए । ‘उनले भने–‘रोगबाट जोगीन घर फर्किए तर अब भोकबाट बच्न सक्ने अबस्था नदेखेपछि परिवारलाई नेपालमै छोडेर भारत जाँदैछु ।’ ‘अब दशै तिहार जस्ता चाडबाड आउँदैछन तर घरमा के खाउँ भन्ने चिन्ता छ’ रोशनले भने–‘कोरोनाको डरले घरै बसौं भने घरमा भोकले परिवार मर्ने चिन्ता छ, बाध्य भएर जाँदैछु ।’
भारतमा कोरोना संक्रमण बढ्दै गएको भएपनि काम भने खुलिसकेको उनले बताए । उनले भने- ‘भारतबाट मालिकहरुले भारतको सिमाना सम्म गाडी पठाउँछन, भारत प्रबेश गर्ने अनुमती पनि उतैबाट मिलाई दिन्छन ।’
भारतमा कोरोना संक्रमण बढ्दै गएपछि चैत अन्तिम सातादेखि भारतमा काम गर्ने नेपाली लकडाउनमै स्वदेश फर्केका थिए । तर अहिले भारतमा दैनिक ९० हजार बढी संक्रमित पुष्टि भईरहेका वेला रोगको प्रवाह नगरी नेपालीहरु पुनः भारत जान थालेका छन् ।
अहिले सुदूरपश्चिमको कैलालीको गौरीफण्टा नाका र कंचनपुरको गड्डाचौकी नाकाबाट दैनिक ३–४ सयको हाराहारीमा नेपालीहरु भारत गईरहेका छन् । ‘कोरोना संक्रमण बढ्दै गएपछि घरबाट चिन्ता गर्न थाले र जेठको अन्तिममा घर फर्किए’ बाजुरा खप्तड छेडेदहकै राम रोकायाले भने-‘छोराको बिहे गर्दा लागेको ऋण तिर्न भारत गएको थिए तर माघमा गए जेठमा घर फर्किनु पर्यो, तर तिर्नु त परै जाओस थप ऋण लाग्यो ।’ उनले अब त घरमा बसेर दैनिक छाक टार्न नै समस्या हुन थालेपछि भारत फर्किएको बताए ।

