नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदाै ।

पहाडी जिल्ला लमजुङमा चितुवाका चार बच्चा एकै ठाउँमा भेटिएका छन् । सोमबार साँझ जिल्लास्थित बेँसीशहर नगरपालिका-२ किरेपानी सामुदायिक वन नजिकै विष्णु थापाको पुरानो घरमा चितुवाका बच्चा फेला परेका हुन् । स्थानीयावासी कृष्ण केसीका अनुसार मान्छे नबस्ने सो स्थानमा चितुवाको बच्चा भेटिएपछि डिभिजन वन कार्यालय लमजुङलाई खबर गरिएको थियो ।
खबरलगत्तै सबडिभिजन कार्यालयले बेंसीशहर सबडिभिजन वन कार्यालयलाई खबर गरेर उक्त स्थानमा प्रमुख नारायणप्रसाद कोइरालालगायतको टोली पठाएको डिभिजन कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले बताए । साना भर्खरै जन्मिएका बच्चाहरू रहेको उनले बताए ।
यस क्षेत्र वरिपरि मानिसको बस्ती नरहेको र जङ्गल रहेकाले मानिसलाई त्यति खतरा नरहेको र बच्चाको माउ आएर बच्चा लैजाने भएकाले सोही स्थानमा केही नगरी उक्त टोली फर्किएको छ । चितुवाका बच्चा भालेले मारिदिने र पोथीले विभिन्न स्थानमा सार्दैसार्दै हुर्काउने भएकाले सो स्थानमा ल्याएको हुन सक्ने जनाइएको छ । टोली मङ्गलबार पनि त्यहाँ अनुगमन गर्न जानेछ ।
लमजुङमा अन्य जिल्लाका तुलनामा चितुवाले मानिसलाई आक्रमण गरेको घटना निकै कम रहेको डिभिजन वन कार्यालयले जनाएको छ । यही महिनाको पहिलो सातातिर बेंसीशहर नगरपालिका-९ साम्दीका एक बासिन्दालाई चितुवाले आक्रमण गरेको थियो।
त्यस्तै गत वर्ष बेंसीशहर-२ नवरुवालमा समेत चितुवाले आक्रमण गरेको थियो । मानिसलाई कम आक्रमण गरे पनि पशुचौपायालाई भने बेला बेला आक्रमण गर्दै मार्ने गरेको उक्त कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए ।

