नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदाै ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री बन्दा ४५ वर्षका थिए । ०५१ को मध्यावधि निर्वाचनपछि बनेको तत्कालीन एमाले नेतृत्वको सरकार ९ महिनामै ढलेपछि उनी प्रधानमन्त्री बने । त्यति बेला उनको उमेर ४८ वर्ष थियो ।
राजनीतिक क्षेत्रमा लाग्नेहरूका लागि आफ्नो ‘करिअर’ को सबैभन्दा उच्चतम आकांक्षा नै मुलुकको कार्यकारी प्रमुख बन्नु हो । त्यो उपलब्धि देउवाले साढे दुई दशक अघि नै हासिल गरिसकेका हुन् । केही अपवादबाहेक विकसित मुलुकमा कार्यकारी प्रमुख भएर हटेपछि राजनीतिबाट अवकाश लिने प्रचलन छ ।
देउवा यसबीचमा चारपटक प्रधानमन्त्री बने । एकपटक विभाजित र एकपटक सिंगो कांग्रेसको सभापति भए । उमेरले समेत ७५ वर्ष पुगिसकेका उनी राजनीतिक विश्राम लिन भने अझै तयार छैनन् । पार्टीको १४ औं महाधिवेशनमा पनि उनी सभापतिको प्रत्याशीका लागि तयारी गरिरहेका छन् ।
तत्कालीन एमालेले ७० वर्ष उमेर पुगेपछि सक्रिय राजनीतिबाट अवकाश लिने नियम नै बनाएको थियो । त्यसको दबाब कांग्रेसमा समेत परिरहेको थियो । तर, एमाले र माओवादी केन्द्रको एकीकरणपछि उमेर हद हटाइयो । त्यही उमेर हदलाई नेकपाले निरन्तरता दिएको भए उपाध्यक्ष वामदेव गौतमले राजनीतिक अवकाश लिइसकेका हुन्थे । गौतम नेकपाका ज्येष्ठ नेता हुन् । उनको उमेरले ७२ वर्ष नाघिसकेको छ । नेकपामा त्यसपछि ७० वर्ष उमेर पुग्नेमा झलनाथ खनाल छन् । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली ६९, अर्का अध्यक्ष पुष्पकमल दाहाल ६६ र वरिष्ठ नेता माधव नेपाल ६८ वर्ष उमेरमा छन् । नेकपाको नेतृत्व तहमा रहेका यी अनुहारहरू पनि ०४८ सालदेखि नै राजनीतिक ‘सिन्डिकेट’ जमाएर बसेका छन् ।
महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र उमेरको विषय चर्चामा छ । ७५ वर्षका देउवा र ७६ वर्षका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वको चाहनाले पनि उमेरको विषयले कांग्रेसमा चर्चा पाउन थालेको हो । देउवा र पौडेल पार्टीका पहिलो तहका नेताहरू हुन् । उनीहरू ०४८ सालदेखि निरन्तर नेतृत्व तहमा छन् । आसन्न महाधिवेशन पनि यी दुई नेताले छाड्ने मनस्थिति बनाएका छैनन् । आपसी प्रतिस्पर्धामा उत्रिन लागेका छन् । १३ औं महाधिवेशन पनि यी दुई नेताबीचकै प्रतिस्पर्धा थियो । दुईमध्ये एकले पार्टीको नेतृत्व लिए थप पाँच वर्ष गुज्रनेछ । कम्तीमा असी वर्षसम्म उनीहरूले पार्टीमा आफ्नो ‘सिन्डिकेट’ जमाउने छन् । अहिले युवा भनिएका नेताहरूको समेत त्यतिबेलासम्म कपाल फुलिसक्नेछ । त्यसैले कांग्रेसभित्र नेतृत्वको विषयमा पहिलो र दोस्रो पुस्ताबीच हानथाप चल्न थालेको छ ।
‘असी वर्षपछि पनि स्वास्थ्यले साथ दियो भने देउवा र पौडेल स्वेच्छाले हट्दैनन् । जबर्जस्ती अर्को पुस्ताले विस्थापित गर्न सक्यो भने बेग्लै कुरा,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘चारपटक प्रधानमन्त्री र पार्टी सभापति भइसकेपछि अब पनि शेरबहादुर दाइ नै किन भन्ने प्रश्न पार्टीभित्रभन्दा बाहिर बढी चर्चामा छ । तर, सत्ता र शक्तिको भोग गर्ने बानी परेपछि नमरुन्जेल राजनीति छाड्न नसक्ने संस्कृति नै बन्दो रहेछ । हिजो गिरिजाप्रसाद कोइरालामा देखिएको थियो, आज शेरबहादुर दाइमा देखिएको छ ।’
राजनीतिको उत्तरार्द्धमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले सक्रिय राजनीतिको मोह त्यागेका थिए । तर, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला निधन हुँदाका बखत पार्टी सभापति नै थिए । अहिले देउवा र पौडेलका लागि पनि उत्तराधिकारी प्राथमिकतामा परेको छैन । कांग्रेस नेता मीनेन्द्र रिजाल पार्टीको संगठन बलियो बनाउन हरेक नेताले ६५ वर्ष पुगेपछि राजनीतिबाट विश्राम लिनु उपयुक्त हुने धारणा राख्छन् । ६३ वर्षका रिजालले चौधौं महाधिवेशनलाई आफ्नो राजनीतिक करिअरका लागिसमेत अन्तिम मौका परीक्षाका रूपमा लिएका छन् ।
पार्टीले ६५ वर्ष उमेरमाथिका नेतालाई राख्न ज्येष्ठ राजनीतिज्ञ सभा व्यवस्था गरेको छ । पार्टीको क्रियाशील पदमा नभएको व्यक्तिलाई यस्तो सभामा ल्याउन सकिन्छ । रिजाल ६५ वर्ष उमेरपछि राजनीतिज्ञ सभामा बसेर पार्टीका लागि उपयुक्त सल्लाह सुझाव दिन उचित हुने बताउँछन् । उनले १२ वर्षअघि केन्द्रीय कार्यसमितिमै ६० वर्षको उमेर हद राख्नुपर्ने प्रस्ताव गरेका थिए । तर पछिल्लोपटक उनले ६५ वर्षको उमेर हदको प्रस्ताव अघि सारेका हुन् । केन्द्रीय सदस्य गगन थापाले पनि केही वर्षअघि ५५ वर्षसम्म मात्रै आफू सक्रिय राजनीतिमा रहने घोषणा गरेका थिए । शेखर कोइरालाले आफू ७५ वर्षपछि सक्रिय राजनीतिमा नरहने घोषणा गरेका छन् ।
रिजालका अनुसार राजनीतिमा जति अनुभवी भए पनि निश्चित उमेरपछि क्रियाशीलता घट्छ । आफूभन्दा अर्कोले राम्रो गर्न सक्ने परिस्थिति बन्न सक्छ । विश्व परिवेश पनि त्यस्तै छ । युरोप र अमेरिकामा युवाले नेतृत्व सम्हाल्दै आएका छन् । राम्रो काम गरेका पनि छन् । ‘सबै देशमा महाथिर जन्मँदैनन् । कांग्रेसमै सबै बीपी हुँदैनन् । गिरिजाप्रसाद कोइरालाजस्तो क्रियाशील हुन पनि सक्दैनन्,’ रिजालले भने, ‘म ६५ वर्ष पुगेपछि कुनै पनि पदमा उम्मेदवार हुन्न । पार्टीका सबै साथीहरूले यसै गरे युवाले नेतृत्व लिने वातावरण बन्छ, पार्टी पनि बन्छ ।’
पौडेल र देउवालाई चुनौती दिन उपसभापति बिमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला अघि सर्दैछन् । उनीहरूमा पनि उमेरको दबाब मुख्य देखिन्छ । उमेरकै दबाबमा रहेका दोस्रो पुस्ताका अन्य नेताहरू पनि यसै महाधिवेशनमा उपसभापति, महामन्त्री बन्ने दौडमा छन् । सभापतिका आकांक्षी शेखर ७० वर्ष लागेका छन् । ‘म अरूजस्तो नमरुन्जेलसम्म पदमा टाँसिइरहन्न, अर्को महाधिवेशनपछि म अवकाश लिन्छु,’ केही समयअघि उनले भनेका थिए, ‘जब अर्कोपटक लड्नु नै छैन भने किन म महामन्त्री वा उपसभापतिमा बस्छु । यसैपटक सभापतिका लागि लड्छु ।’
शशांक शेखरभन्दा ८ वर्षले कान्छा छन् । उमेरको दबाबमा रहेकाले पनि शेखर यसपटक आफूलाई सहयोग गर्न शशांकलाई फर्काइरहेका छन् । प्रकाशमान सिंह ६५ र निधि ६४ वर्षका छन् । यसैपटक नलडे अर्को पाँच वर्ष पनि परिस्थिति प्रतिकूल हुने उनीहरूको बुझाइ छ । पार्टीभित्र विचार निर्माणमा अहिल्यैदेखि युवाको हस्तक्षेप बढेको छ । अर्कोपटक नेतृत्वकै लागि हस्तक्षेप हुने देखिन्छ । त्यसमा उमेर पनि ढल्केपछि प्रतिकूल अवस्था हुने बुझाइ सभापतिका सबै आकांक्षीको छ । १४ औं महाधिवेशनबाट महामन्त्री बन्ने र १५ औं मा सभापति हुने युवा नेता थापाको तयारी अहिल्यैदेखि चलेको छ भनेर आजको कान्तिपुर दौनिकमा खबर प्रकाशित छ ।