नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदाै ।

स्वास्थ्य मन्त्रालयले लकडाउन नगरे मंसिरसम्ममा कुल संक्रमितको संख्या ३ लाख नाघ्ने आकलन गरेको छ । स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनको विधिका आधारमा गरेको अध्ययनमा संक्रमणको गति तीव्र कायमै रहेमा असोज ५ सम्म अर्को एक सयको मृत्यु हुनसक्ने आकलन पनि गरेको छ। हाल आईसीयू र भेन्टिलेटरमा रहेका गम्भीर बिरामीको आधारमा सो प्रक्षेपण गरिएको अध्ययनमा संलग्न मन्त्रालयका एक अधिकारीले बताए।
लकडाउन खुलेलगत्तै केस समुदायमा फैलिएको, काठमाडौं उपत्यका, पर्सा, विराटनगर, चितवन, बुटवल लगायतका ठूला सहरमा समुदायमा संक्रमण फैलिसकेको कारण भदौ २९ गते सबैभन्दा बढी संक्रमित थपिएर सक्रिय संक्रमित ३९ हजार पुग्ने सम्भावना रहेको बताइएको छ । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ छ।
पछिल्लो समय नेपालमा दैनिक एक हजारको हाराहारीमा संक्रमित थपिइरहेका छन्। हाल राजधानीसहित देशका ४४ जिल्लामा निषेधाज्ञा छ। सरकारले २४ गतेसम्म तोकेको निषेधाज्ञालाई खोल्न उद्योगी, व्यवसायीहरुले आग्रह गरिरहेका छन्। तर, निषेधाज्ञा खुल्नेबित्तिकै पुनः संक्रमण बढ्ने सरकारको आकलन रहेको छ ।
पछिल्ला दिनमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने क्रम बढेको छ। अहिले झण्डै ७० प्रतिशतले मास्क प्रयोग गरिरहेको र भीड नियन्त्रण हुन सके संक्रमण दर घटाउन सकिने सरकारको सोच छ । बिस्तारै निषेधाज्ञा हटाएर जनस्वास्थ्यको मापदण्ड पालनमा कडाई गर्ने र जोरविजोर प्रणलीमार्फत जनजीवन सहज बनाउदै लैजाने योजनामा सरकार रहेको छ ।
