नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदौ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा एकैपटक ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुष्टि भएका ३९६ जना कोरोना संक्रमित मध्ये ३०० जना कोरोना संक्रमित काठमाडौंका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालमा आज (मंगलवार) एकैपटक ९०२ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४८ हजार १३८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३०६ जनाको मृत्यु भएको छ ।
