नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदाै ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले आज जिल्ला सुरक्षा समितिको संयुक्त बैठकबाट यो सम्बन्धी औपचारिक निर्णय गर्न लागेका हुन् ।
कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्न भदौ तीन गते बुधबार रातिबाट जारी निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लैजाने रणनीतिअनुरूप परिमार्जन गर्ने तयारी गरिएको छ । निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने, उपत्यकाको नाकाबाट हुने आवागमन व्यवस्थित पार्ने, सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने, बजार खुला गर्ने तथा सामाजिक दूरी लगायतका विकल्पमा प्रशासनले छलफल गरिरहेको छ ।
चाडपर्व नजिकिँदै गएकाले कोरोनाको महामारी भयावह हुन नदिन कसरी अगाडि बढ्ने तथा उद्योग व्यवसाय सञ्चालन र बजार खुला राख्ने विषयमा मापदण्ड तोक्ने तयारी छ । यसअघि थपिएको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिँदै छ ।
सरोकारवालाले निषेधाज्ञा खुकुलो बनाउन सुझाव दिएका छन् । जनस्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गरेर विस्तारै निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने तयारी प्रशासनको छ ।
उपत्यका मेयर फोरमले राजधानी प्रवेश गर्ने नाकामा सेना परिचालन गरेरे सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न सुझाव दिएको छ । देशभर हाल ३७ जिल्लामा निषेधाज्ञा छ ।
