बालिकालाई बलात्कार गरेको अभियोगमा पूर्वभारतीय सैनिक पक्राउ

मोरङको सुन्दरहरैंचा नगरपालिकामा १५ वर्षीया बालिका बलात्कार घटनामा पूर्वभारतीय सैनिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्का अनुसार सुन्दरहरैंचा ४ का स्थानीय ५४ वर्षीय अवकाश प्राप्त भारतीय सैनिक उमेश नेपाललाई बलात्कार आरोपमा पक्राउ गरिएको हो ।

नेपालले आफ्नै घरमा भाडामा बस्ने बालिकालाई विगत दुई वर्षदेखि पटक–पटक बलात्कार गरेको पक्राउ पछि खुलेको प्रहरी प्रमुख खड्काले जानकारी दिए । विगत ४ वर्षदेखि नेपालको घरमा भाडामा बस्दै आएकी पीडित बालिकाका बुवा सवारी चालक हुन् ।



उनका अनुसार पक्राउ परेका नेपाललाई बुधबार जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । पीडित बालिकाले मंगलबार अभिभावकलाई घटनाबारे जानकारी गराएपछि आज परिवारले नेपालविरुद्ध किटानी जाहेरी दिएका थिए ।

प्रारम्भिक अनुसन्धान र सोधपुछका क्रममा पीडित बालिकामाथि नेपालले घरमा, होटल र बाटोमा समेत बलात्कार गरेको खुलेको छ । घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्की दिँदै आएका नेपालले ‘मर्निङवाक’ को बहानामा बिहान ४ बजेतिर बाहिर लैजाने र बाटोमा बलात्कार गर्ने गरेको बालिकाले प्रहरीलाई बताएकी छन् । ‍

प्रहरी उपरीक्षक खड्काका अनुसार भारतीय सेनामा कार्यरत नेपालले २०६४ सालमा अवकाश पाएका हुन् । अवकाश पाएपछि भने नेपालले घरमै बसेर जग्गा कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार