नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदौ ।
हामीमध्ये धेरैले प्रायः कवाडीका सामान फोहोरमा फ्याँकिदिन्छौं वा छिटोभन्दा छिटो यसको व्यवस्थापन गरिदिन्छौं । तर स्पेनका एक दम्पती लारा डेभिस र डेब बुनानले कबाडीका सामान प्रयोग गरी सपनाको सुन्दर घर बनाएका छन् ।
उनीहरूले यसको नाम राखेका छन् अर्थसिप । डेबले आफ्नो ५८ औं जन्मोत्सव यही घरमा मनाएका छन् । यो घर बनाउन उनीहरूले पुराना टायर, पेय पदार्थका क्यान र बोतल प्रयोग गरेका छन् । सुन्दर घर देख्ने जोकोहीलाई पनि त्यहाँ बस्ने इच्छा हुन्छ ।
लारा दम्पती सन् २००२ मा बेलायतबाट स्पेनमा बसाइँ सरेका थिए । स्पेनको अलमेरिया प्रान्तस्थित एक सानो सहरमा उनीहरूले पुरानो घर किने । उनीहरूलाई त्यो घर नयाँ तरिकाले बनाउन मन लाग्यो । उनीहरूले अर्थसिप किताब पढे। त्यसपछि उनीरूले कबाडीको घर बनाउने अठोट गरे । स्थानीय इन्जिनियरसँग कुराकानी गरे । सरकारसँग इजाजत लिए । यी सबै कामका लागि उनीहरूलाई एक वर्ष लाग्यो ।
केही स्थानीय व्यक्तिहरूको सहयोगमा उनीहरूले पुराना टायर, पेय पदार्थका क्यान र बोतल संकलन गर्न थाले । यो सबै काम गर्न उनीहरूलाई दुई वर्ष लाग्यो । त्यसपछि उनीहरूले घर तयार गरे । यो घर बनाउन उनीहरूलाई सात वर्ष लागेको छ। यो अनौठो घरमा न जाडोमा ज्यादा जाडो हुन्छ न त गर्मीमा अत्यन्त गर्मी ।
तापक्रम १६ डिग्रीसम्म झर्दा सम्म हिटर चाहिँदैन । घरको ढोका कारको टायरले बनेको छ । टायरमा तापक्रम अनुकूल बनाउन सक्ने क्षमता हुन्छ । यसले १६ डिग्री तापक्रमसम्म कायम राख्छ र चिसो हुन दिँदैन ।
घरको भित्री भाग क्यान र बोतलले बनेका छन् । सिमेन्टको सट्टा माटो र कागजको प्रयोग गरिएको छ । छानामा परेको पानी जम्मा हुन्छ । त्यो शौचालय, बगैंचा र घरका अन्य काममा प्रयोग गरिन्छ । तातोपानी र बिजुलीका लागि सोलारको व्यवस्था गरिएको छ ।