नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ भदाै ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । यससँगै उपत्यकामा चहलपहल बढेको छ । जोरबिजोर प्रणाली लागू भएसँगै आज भदौ २५ गते विहीबार बिजोर नम्बरका सवारीसाधन सञ्चालनमा आएका छन् । यसअघि बुधबारबारसम्म अत्यावश्यक बाहेकका सवारीसाधन मात्र चल्दा फाट्टफुट्ट मात्र सवारी साधन देखिएका सडकमा आज सवारी साधनको चाप बढेको देखिएको छ ।
जोरबिजोरको नियम विपरित चलेका सवारीसाधनलाई सुरक्षाकर्मीले ठाउँठाउँमा रोकेका छन् । आजैदेखि १६ सिटभन्दा माथिको सार्वजनिक सवारीसाधन पनि सञ्चालनमा आएका छन् । चालकसहित ३ जनासम्म चलाउन पाइने आदेश जारी भएपछि आजदेखि निर्वाधरूपमा ट्याक्सी सञ्चालनमा आएका छन् ।
आदेशअनुसार तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रशासन कार्यालयहरूले बुधबार जारी गरेको आदेशमा फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म खुला गर्न दिने निर्णय भएपछि त्यस्ता पसलहरू बिहानैदेखि खुलेका छन् ।
यस्ता पसलहरू बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने आदेश गरिएको छ । प्रशासनले यी निर्णयहरु भदौ ३१ गते मध्यरातिसम्म लागू हुने पनि जनाएको छ । यीबाहेकका पसल तथा व्यवसाय भने विहीबार बाहेकका विभिन्न दिनमा खोल्न पाइने गरी तोकिएको छ ।
सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसल सोमबार, बुधबार र शनिबार खोल्न पाइने छ भने भाडा र भान्साका सामग्रीका पसल आइतबार मंगलबार र शुक्रबार खोल्न पाइने छ ।
यस्तै, फर्निचर र अटोबाइलका पसल सोमबार र बुधबार मात्रै खोल्न पाइने छ । फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने छ ।

