नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ भदौ ।
भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबोट परिचालन गर्ने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।
अस्पतालमा रोबोटको परीक्षण सम्पन्न गरिसकेकाले असोजको पहिलो सातादेखि नै नर्सिङ रोबोट सञ्चालनमा ल्याउने र बिरामीलाई औषधि र खानेकुरा रोबोटले दिने गरी तयारी गरेको श्रेष्ठले बताए । रोबोटमार्फत सेवा दिने यो नेपाल कै पहिलो अस्पताल हुनेछ । नेपालका युवाले निर्माण गरेको तीनवटा रोबोटका लागि करिब रु १५ लाख बजेट खर्च हुने बताइएको छ ।
नगरपालिकाले आफ्नो अस्पतालमा आगामी असोजदेखि कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबर्ट परिचालन गर्ने भएको छ । नगरपालिकाले आफ्नै पिसीआर ल्याबमा चैतदेखि हालसम्म नौ हजारको परीक्षण गरिसकेको छ । भदौ महिनाको २४ गतेसम्ममा २ हजार १ सय १२ को परीक्षण गरिएकोमा हालसम्म ३ सय २७ जनाको नतिजा पोजेटिभ भेटिएको छ । संक्रमितमध्ये ९० जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् भने ९० जना सामुदायिक आइसोलेसनमा र १ सय ७१ जना होम आइसोलेसनमा रहेको मेयर श्रेष्ठले बताए ।
नगरपालिकाले जोखिमयुक्त क्षेत्रका बासिन्दा, कोरोना संक्रमितका परिवार, उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा आएकाहरुको पहिचान गरी स्वाब सङ्कलन र परीक्षणलाई तीव्र पारेको छ । नगरपालिकाले आफ्नै ल्याबमा स्वाब सङ्कलन गरेपछि आपत्कालीन अवस्थाको १२ घण्टाभित्र र अरूको २४ घण्टाभित्र पिसीआरको रिपोर्ट दिने गरेको छ ।