नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ भदौ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गइरहेकोले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आगामी फागुनमा हुने भनिएको १४औं महाधिवेशन प्रभावित बन्ने देखिएको छ । कोरोनाका कारण महाधिवेशनका गतिविधिहरूमा असर परेपछि त्यसले आगामी महाधिवेशन प्रभावित बन्ने देखिएको हो । नजिकिँदै गएको महाधिवेशनलाई कोरोनाले प्रभावित पार्ने देखिएपछि कांग्रेसभित्र महाधिवशेनको कार्यतालिका फेरबदल गर्नेबारे पनि कुरा उठ्न थालेको छ । कांग्रेसका शीर्ष नेताहरूलाई नै आगामी फागनुमा महाधिवेशन हुन सक्दैन भन्ने निश्चित भए पनि तर त्यसबारे नेताहरूले पार्टीभित्र खुलेर कुरा गर्न भने सकिरहेका छैनन् । साउन १० गतेभित्र समायोजनको काम सक्ने समय तोकिएको भए पनि केही जिल्लाहरूमा अझै समायोजन हुन सकिरहेको छैन ।
यसैबीच नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले १०७औं बीपी जयन्तीका अवसरमा बुधबार कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल कार्यक्रममा महाधिवेशनको नयाँ तालिकाबारे छलफलका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका थिए । कोरोना महामारीको कारण आगामी फागनुमा १४औं महाधिवेशन नहुने निश्चित भएको भन्दै यसबारेमा पार्टीभित्र गम्भीर छलफल हुनुपर्ने उनको तर्क थियो । त्यस्तै, आगामी फागुनमा १४औं महाधिवेशन हुन नसक्ने भनेर प्रष्ट नखुलाए पनि यदि तोकिएकै समयमा महाधिवेशन नभए सबैको सल्लाहमा नयाँ मिति तोकिने पार्टी सभापति शेरबहादुर देउवाको भनाइ थियो ।
पार्टी विधानअनुसार कांग्रेसको महाधिवेशन चार वर्षमा हुनुपर्ने भए पनि विशेष परिस्थितिको सुविधा प्रयोग गरेर थपिएको एकवर्षे कार्यकाल पनि सकिन अब केही महिना मात्रै बाँकी रहेको छ । फागुनमा महाधिवेशन गर्न नसकिए संविधानअनुसार थप ६ महिना समय बढाएर २०७८ भदौभित्र महाधिवेशन गरिसक्नुपर्छ, तर त्यो समयमा पनि महाधिवेशन हुन नसकेको अवस्थामा संवैधानिक संकट आइलाग्ने छ ।
अप्ठ्यारोमा पौडेलपक्ष
आगामी फागुनमा १४औं महाधिवेशन हुन नसक्ने प्रायः निश्चित भइसकेको अवस्थामा संस्थापन इतरपक्ष भने अप्ठ्यारोमा परेको छ । एकतर्फ कोरोनाका कारण समयमै महाधिवेशन हुन नसक्ने चिन्ता संस्थापन इतरपक्षलाई छ भने अर्कोतर्फ महाधिवेशनको कार्यतालिका सार्दै जाँदा देउवाले अहिलेकै कार्यसमितिलाई निरन्तरता दिने चिन्ता थपिएको छ । यदि महाधिवेशनको मिति सार्दा पनि सभापति देउवाले तोकिएकै समयमा महाधिवेशन नगराएर संवैधानिक संकटमा धकेल्न सक्ने डर पौडेल पक्षलाई छ । महाधिवेशन हुन नसकेर संवैधानिक संकट आइलागे देउवाले अहिलेकै कार्यसमितिलाई निरन्तरता दिन सक्छन् । यसले गर्दा तोकिएकै समयमा महाधिवेशन गर्न सभापतिलाई पौडेलपक्षले दबाब दिइरहेको छ ।
सर्वसम्मत नेतृत्व चयनको बहस
महाधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेसमा सर्वसम्मत नेतृत्व चयनको बहस पनि सुरू भएको छ । पार्टीभित्र अहिले झण्डै आधा दर्जन नेताहरूले आफूलाई सभापतिको दाबेदार बताउँदै आइरहेका छन् । यसैबीच कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल कार्यक्रममा सभापतिको दाबी गरिरहेका उपभापति विमलेन्द्र निधिले सर्वसम्मत नेतृत्व चयनको विषय उठाएका थिए । ‘महाधिवेशनमा विचारको आधारमा बहस गरौं । विचारको एकता गरौं । पार्टीभित्र र बाहिर वैचारिक रूपमा सबै एकै ठाउँमा उभिऔं । महाधिवेशनमा सर्वसम्मतिले नेतृत्व चयन गरौं र भावी कार्यदिशा तय गरेर अघि बढौं’ निधिले भनेका थिए । न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकनका आधारमा सर्वसम्मत नेतृत्व चयन गरिनुपर्ने भन्दै निधिले उठाएको सर्वसम्मत नेतृत्व चयनको विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सकारात्मक देखिएका थिए । तर यस विषयमा पार्टी सभापति देउवाले भने कुनै प्रतिक्रिया जनाएनन् ।
