नेकपा स्थायी कमिटी बैठक आज, यस्ता छन् बैठकका एजेण्डा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ । साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो । स्थायी कमिटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि झण्डै फुटेको नेकपा कार्यदलले तयार पारेको प्रतिवेदनमा छलफल गर्न बोलाइएको कार्यदलका संयोजक महासचिव विष्णु पौडेलले जानकारी दिए।

बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकको छलफलका विषयहरुमा दुई अध्यक्षको जिम्मेवारीलाई प्रस्ट पार्ने तथा आगामी चैतमा महाधिवेशन गर्न प्रस्ताव गर्ने लगायतका प्रस्ताव तयार गरिएको छ।



यसैगरी मन्त्रिमण्डल पुनर्गठन निश्चित मापदण्ड बनाएर गर्नुपर्ने, प्रदेश र स्थानीय तहका कामलाई थप प्रभावकारी बनाउने, पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउन निश्चित अवधि तोक्नेसहितका विषयमा समेत छलफल हुने बताइएको छ। साथै कोभिड–१९ को नियन्त्रणलाई थप प्रभावकारी बनाउने उपायका बारेमा पनि नेकपा स्थायी कमिटीको बैठकमा छलफल गर्ने कार्यसूची तय गरिएको छ।

सम्बन्धित समाचार