नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ भदाै ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल थप गर्ने प्रस्ताव आजको मन्त्रिपरिषदमा पेश हुने भएको छ। ऊर्जामन्त्री वर्षमान पुनले कार्यकाल थपसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्न लागेका हुन्।
खुला प्रतिस्पर्धाबाट चार वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएका कुलमानको म्याद यही भदौ २९ गते सकिँदैछ। स्रोतका अनुसार कुलमानको म्याद थपका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गरिसकेका छन्।
कुलमानलाई प्रचण्डले आफ्नो सरकारको पालामा विद्युत प्राधिकरणको जिम्मा दिएका थिए। प्रचण्डले नै ऊर्जामन्त्री वर्षमान पुनलाई कुलमानको म्याद थपको प्रस्ताव अगाडि बढाउन निर्देशन दिएको स्रोतले बतायो। प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानको म्याद थप गर्ने विषयमा अहिलेसम्म मुख खोलिसकेका छैनन्। स्रोतका अनुसार कुलमानको म्याद थपसँगै रिक्त संवैधानिक निकायहरूमा नियुक्ति विषयमा ओली र प्रचण्डबीच छलफल भएको छ।
कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएपछि नेपालमा लोडसेडिङ हटेको थियो। त्यस्तै, कुलमानले चार वर्षमा उल्लेख्य मात्रामा विद्युत चुहावटमा कमी ल्याएका छन्। घाटामा रहेको विद्युत प्राधिकरण हाल नाफामा छ। तर, उनको चार वर्षको कार्यकालमा कुनै पनि नयाँ ठूला आयोजना सुरू हुन सकेका छैनन्। ऊर्जा मन्त्रालय स्रोतका अनुसार कुलमानको म्याद यसपटक दुई वर्ष थपिने सम्भावना छ।