नेकपा स्थायी समितिको बैठक सकियो, महाधिवेशन कहिले ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सकिएको छ । विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको प्रस्तावित प्रतिवेदनलाई पारित गर्दै सकिएको हो । बैठकले कार्यकारी अध्यक्षको अधिकार पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीलाई सरकार सञ्चालनमा केन्द्रित हुने सहमति भएको उनको भनाई छ।

त्यसैगरी पार्टीलाई विधि र पद्धतिका आधारमा चलाउने र यसअघि भएका कमी कमजोरीलाई सच्याउने सहमति भएको श्रेष्ठले बताए । असार १० गतेबाट सुरु स्थायी कमिटी बैठक शुक्रवार सकिएको हो ।



शुक्रवारको बैठकमा अष्टलक्ष्मी शाक्य, माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, युवराज ज्ञवाली, नारायणकाजी श्रेष्ठलगायतले धारणा राखेका थिए । बैठकले स्थायी कमिटी सदस्यले राखेका धारणा समेटेर प्रतिवेदन पास गरेको श्रेष्ठले जानकारी दिए । ‘दुर्घटनाबाट बचाउँदै सांगठनिक एकता गर्ने विषयमा सहमति भएको छ,’ श्रेष्ठले भने ।

बैठकले पार्टी एकताको रक्षा गर्ने र पार्टीलाई सुदृढ गरी अघि बढाउने निर्णयसमेत गरेको छ । बैठकमा सरकार ओलीले चलाउने र पार्टी बैठकले चलाउने भन्ने सहमति भएको छ ।

साथै नेकपाले आफ्नो महाधिवेशनको मितिसमेत तोकेको छ । बैठकले २०७७ चैत्र २५ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको श्रेष्ठले बताए । महाधिवेशनबारे छलफल गर्न नेकपाले कातिक १५ देखि १७ गतेसम्मका लागि केन्द्रीय कमिटी बोलाएको छ ।

 

सम्बन्धित समाचार