नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ भदौ ।
नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को हिरासतमा रहेकी बलिउड अभिनेत्री रिया चक्रवर्तीले बलिवुडमा रहेको ड्रग्स नेक्ससको खुलासा गरेपछि हडकम्प मच्चिएको छ । एनसीबीसँगको बयानका क्रममा रियाले २५ बलिवुड हस्तीको नाम लिएको विषय मिडियामा आएपछि ती २५ नामको बारेमा अनुमान र चर्चा शुरु भएको छ ।
यसैबीच मिडिया रिपोर्टमा २५ मध्ये पाँच जनाको नाम सार्वजनिक भएको छ । ड्रग्स लिने र ड्रग्स पार्टीमा सामेल हुने पाँच जनामा अभिनेत्री सारा अली खानको नाम बाहिर आएको छ । एक समय रियाकी मिल्ने साथी समेत रहेकी साराको नामको खुलासा अहिले हिरासतमा रहेका साम्युल हाकिपले खुलासा गरेका हुन् । फिल्म केदारनाथको शुटिंगको क्रममा सारा र सुशान्तले एक अर्कालाई डेट गरेको र पछि ब्रेकअप भएको बताइएको छ ।
त्यस्तै ड्रग्स लिने सुचिमा अभिनेत्री रकुल प्रित सिंहको नाम समेत आएको छ । रिया र रकुल एक समय राम्रो साथी रहेका थिए भने ड्रग्सको विषयमा रियाले रकुलको नाम लिएको बताइएको छ । पेशाले डिजाइनर रहेकी सिमोन खंभाटाको नाम पनि रियाले लिएको बताइएको छ । सीमोन र रिया मिल्ने साथी समेत हुन् ।
त्यस्तै सेलिब्रेटीको पब्लिसिटी हेर्ने रोहणी अय्यरको नाम पनि ड्रग्स लिने सुचिमा बाहिरिएको छ । रोहिणीले एक समय सुशान्तको समेत पब्लिसिटी हेर्ने गरेकी थिइन् । त्यस्तै यस सुचिमा सुशान्तको अन्तिम फिल्म दिल बेचाराका निर्देशक मुकेश छाबडाको नाम पनि ड्रग्स विषयमा अगाडि आएको छ । मुकेश सुशान्तलाई पहिलो फिल्म काइ पो छे मा रोल दिंदा सो फिल्मका कास्टिंग निर्देशक थिए ।
बलिउडमा ड्रग्स मामिलामा छानबिन गरिएको एनसीबीले रियाको माध्यमबाट यी पाँच सहित २५ सेलिब्रेटीलाई अनुसन्धानको दयारामा ल्याउने तयारी गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।