नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ भदाै ।

सिन्धुपाल्चोकको बाह्रवीसेमा पहिरोले कम्तिमा ९ वटा घर पुरिएका छन् । बाह्रवीसे वडा नम्बर ७ घुम्थाङको नागपुजेमा भीरखर्कबाट खसेको पहिरोले कम्तिमा ९ घर पुरिँदा कयौँ बेपत्ता भएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिए । पहिरोले नागपुजेका कम्तिमा ९ घर पुरिएको र कम्तिमा २०-२५ जना मानिस बेपत्ता भएको खबर आएको मेयर शेर्पाले बताए ।
स्थानीय शिक्षक बजीर भण्डारीलाई उद्धृत गर्दै सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले भने सामाजिक सञ्जालमा उल्लेख गरेको विवरणअनुसार नागपुजेमा ८ घर र भीरखर्कमा १० घर पुरिएका छन् ।
नागपुजेका ८ घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयबासीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ ।
पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन् । उनी स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे प्रस्थान गरेका हुन् ।
‘पहिरोले घुम्थाङको नागपुजे र भीरखर्कमा क्षति पुगेको जानकारी आज बिहान ४ बजे आउनासाथ हामी गाडीमार्फत् त्यता हिँड्यौं,’ सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने ।

