नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ भदौ ।

बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार १६५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बितेको २४ घण्टामा काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ समेत गरी ३६५ जना महिला र ६७४ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।
डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ,मुस्ताङ, म्याग्दी,डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् । कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३४५ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ९ जनाले ज्यान गुमाएका छन् ।
हिजो शनिवार नेपालमा १ हजार २०१ जनामा संक्रमण पुष्टि भएको थियो । ८५२ जना संक्रमणमुक्त भएका थिए भने १४ जनाको मृत्यु भएको थियो ।

