नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ भदौ ।
विवाहको तीन वर्षपछि बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली पहिलोपटक आमाबुबा बन्न लागेका छन् । दुवैजनाले केही समय अगाडि नयाँ सन्तानलाई स्वागत गर्न तयार रहेको बताएका थिए । अनुष्काले पहिलोपटक आफ्नो बेबी बम्पको तस्वीर सार्वजनिक गरेकी छन् ।
अनुष्काले इन्स्टाग्राममा समुद्र नजिकै रहेर बेबी बम्पको तस्वीर शेयर गर्दै लेखेकी छन्, ‘जीवन निर्माण गर्नुभन्दा अरू कुनै वास्तविकता छैन । जब यो आफ्नो नियन्त्रणमा छैन भने के गर्ने ?’ अनुष्काले शेयर गरेका केही तस्वीर सोसल मिडियामा चर्चामा आएका छन् । उनलाई बधाई तथा शुभकामना आइरहेका छन् ।
श्रीमान विराटले समेत कमेन्टमा लेखेका छन्, ‘एकै फ्रेममा मेरो पूरा संसार ।’ २७ अगष्टमा उनीहरूले आफ्नो घरमा नयाँ सदस्यको आगमन भइरहेको जानकारी गराएका थिए । अनुष्काले २०२१ जनवरीमा बच्चालाई जन्म दिँदैछिन् ।
विराट र अनुष्काले ११ डिसेम्बर २०१७ मा इटालीको टस्कनीमा विवाह गरेका थिए । विवाहपछि अनुष्काले २०१८ मा शाहरूख खानसँग चलचित्र ‘जिरो’ मा काम गरेकी थिइन् । उक्त चलचित्रमा अनुष्कासँगै कटरिना कैफको पनि मुख्य भूमिका थियो । अभिनयसँगै अनुष्काले आफ्नै प्रोडक्सन हाउसमा समय बिताउने गरेकी छन् ।