निषेधाज्ञा खोल्नुपर्छ भन्नेहरू स्वास्थ्य सावधानीमा किन ध्यान दिदैनन् ? (फोटो फिचर)

लामो समयको लकडाउन र पटकपटकको निषेधाज्ञाका कारण अस्तव्यस्त बनेको व्यापार व्यवसायी क्षेत्र निश्चित मापदण्डसहित पुनः सञ्चालनमा आएका छन् । काठमाडौं उपत्यकामा गत भदौं ४ गतेदेखिको निषेधाज्ञा पछिल्लो पटक गत विहीबारबाट केही खुकुलो पारिएसँगै व्यापार व्यवसायहरू सञ्चालनमा आएका हुन् । तर निषेधाज्ञाको अवधि भने आगामी भदौं ३१ गतेसम्म कायमै राखेको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासनले तीन हप्तासम्म कडाइ गरिएको निषेधाज्ञा नयाँ मापदण्डसहित खुकुलो बनाएसँगै सडकमा सवारी साधानहरूको चाप र गल्लीहरूमा मानिसहरूको चहलपहल बढेको छ । मानिसहरूको चहलपहल बढेपछि व्यवासयीहरूले थोरै भएपनि रातह महसुस गरेका छन् । धेरै समयसम्म व्यापार व्यवसाय बन्द गरेर घरभित्रै बसेका व्यवासायीहरूले बैंकको किस्ता र कोठाभाडा तीर्न र दैनिकी चलाउनै धौधौ भएकोले व्यापार व्यवसाय सुचारू गर्न पाउनुपर्ने माग गर्दै आएका थिए । कोरोना संक्रमण नियन्त्रणको अनिश्चितता र जनस्तरको दबाबका कारण पछिल्लो समय काठमाडौं उपत्यकामा निषेधाज्ञालाई मोडालिटीलाई परिर्वतन गरेको देखिन्छ ।



व्यापार व्यवसाय सञ्चालनमा आएसँगै न्युरोड, असन, महाबौद्धलगायत काठमाडौं मुख्य व्यापारिक क्षेत्रहरूमा मानिसहरूको भिडभाड देखिएको छ । सोमबार उक्त क्षेत्रहरूमा मानिसहरूले कोरोना संक्रमणबाट जोगिन अपनाउँनु पर्ने जनस्वास्थ्यका न्युनतम मापदण्ड समेत पालना गरेको देखिएन । संक्रमणबाट जोगिन अधिकांश व्यापारी तथा व्यवसायीहरू र ग्राहकहरूले सावधानी अपनाउँदैनन् । भिडभाडमा मानिसहरूले दुई मिटरको भौतिक दूरी त टाढाको कुरा, दुई वित्ताको समेत दूरी कायम गरिएको पाइँदैन । संक्रमणको जोखिम कायमै रहेको बेला यस्ता सामान्य लापरबाहीले स्थिति भयावह नहोला भन्न सकिन्न । असनमा फेन्सी पसल सञ्चालन गर्दै आएका नवीन बज्राचार्य कोरोनाको जोखिमका बीच पनि पसल खोल्नुपर्ने बाध्यता भएको सुनाउँछन् । उनी भन्छन् ‘कोरोनाको डर मानेर के गर्नु ? पसल खोल्नु पर्ने बाध्यता छ । हामीले सावधानी अपनाए पनि अधिकांश ग्राहकहरूले सावधानी अपनाएको नै देखिँदैन ।’

मापदण्ड उल्लङघन

काठमाडौं उपत्यकामा पछिल्लो समय लागु गरेको नयाँ मापदण्ड अनुसार व्यवसायीहरूले व्यवसाय सञ्चालन गरेका छैनन् । कतिपय व्यापार व्यवसायीहरूले उक्त मापदण्ड व्यवहारिक नभएको भनिरहेका छन् भने कतिपय व्यवसायीहरू मापदण्ड राम्रो भए पनि कार्यन्वयन हुन नसकेको बताउँछन् । महाबौद्धमा मोबाइल पसल सञ्चालन गर्दै आएका विशाल श्रेष्ठ प्रशासनको नयाँ मापदण्ड राम्रो भए पनि कार्यन्वयन हुन नसक्दा संक्रमणको जोखिम झन बढेको बताउँछन् । त्यस्तै, भाँडाकुडाको पसल सञ्चालन गर्दै आएका ओम गुप्ता भन्छन् ‘प्रशासनबाट राम्रोसँग अनुगमन पनि छैन । प्रशासनको नियम कसैकसैले त पालना गरेकै छन् । तर अधिकांश व्यापारीहरू भने मनलाग्दी खोलिरहेका छन् ।’ प्रशासनले कडाइका साथ अनुगमन गरी नियम उल्लङघन गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्नुपर्ने उनको भनाई छ । असन क्षेत्रमा अनुगमनमा खटिएका एक प्रहरी पनि व्यापारीहरूले प्रशासनको नियमलाई जति सम्झाए पनि अटेरी गरेको स्वीकार्छन् । उनी भन्छन् ‘प्रशासनले कुन बार के खोल्ने भन्ने प्रष्ट भनेको छ तर व्यापारीहरूले त्यो नियम मानिरहेकै छैनन् । हामीले जति भनेपनि उनीहरूले अटेरी गरिरहेका छन् ।’

यस्तो थियो मापदण्ड

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासनले भदौ ४ गतेदेखि जारी निषेधाज्ञाको पछिल्लो मापदण्ड अनुसार सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिकलगायतका पसलहरू सोमबार, बुधबार र शनिबार मात्रै सञ्चालन गर्न अनुमति दिएको थियो । भाँडा र भान्साजन्य पसलहरू आइतबार, मंगलबार र शुक्रबार मात्रै खोल्न पाउने र फर्निचर, अटो मोवाइल सम्बन्धी पसल सोमबार र बुधबार मात्रै खोल्न पाइने भनिएको थियो । फुटपाथ, पसल, ठेला व्यापार, स्टेशनी पसल, इलेक्ट्रिक, डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म र बेलुका ४–७ बजेसम्म खोल्न पाइने र सवारी साधन मर्मत सम्बन्धी वर्कसप बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाइने व्यवस्था लागु गरिएको थियो ।

सम्बन्धित समाचार