नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ भदाै ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने बताउँदै आएका ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुनले यससम्बन्धी कुनै पनि प्रस्ताव मन्त्रिपरिषदमा लगेका छैनन् । सोमबारको बैठकमा घिसिङको पुनर्नियुक्तिको प्रस्ताव लैजाने भन्दै मन्त्री पुन र उनको सचिवालयले सार्वजनिक अभिव्यक्ति दिए पनि प्रस्ताव गएको छैन ।
मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद नपठाएको बताए । ‘अझै कुरा मिल्न बाँकी छ,’ भट्टले भने।
घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए । उनको कार्यकाल आइतबार सकिएको छ। नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने विषय पनि आजको बैठकको प्रस्तावमा नपरेको बताइएको छ ।

