कुलमान हटाए जनताले जीवनभर चित्त दुखाउने छन् : मदनकृष्ण

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखको जिम्मेवारीबाट कुलमान घिसिङलाई हटाए जनताले जीवनभर चित्त दुखाउने बताएका छन् । सोमबार राति उनले आफ्नो फेसबुक पेजबाट ‘७७ वटा जिल्लाको मन जितेको व्यक्तिलाई हटाउने निर्णय गरिएमा जनताले जीवनभर चित्त दुखाउने’ बताएका हुन् ।

‘एउटा जिल्लाको मत प्राप्त गरेपछि कुनै पनि सांसद मन्त्री बनेर सिंगै मन्त्रालयलाई नेतृत्व दिन योग्य हुन्छ’ उनले लेखेका छन् ‘तर मेचीदेखि महाकाली हिमालदेखि तराई सतहत्तरै जिल्लाका साढे ३ करोड जनताका आत्मादेखि रूचाइएको एउटा नाम कुलमान घिसिङ, जो नेपालको ७७ जिल्लामध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टीबाट चुनाव लडेमा आँखा चिम्लेर निर्वाचित हुने निश्चित देखिन्छ ।’



आम जनताको मन जितेको व्यक्तिलाई हटाउने निर्णय गरिएमा जनताले जिन्दगीभर चित्त दुखाउने भन्दै कलाकार श्रेष्ठले जनताको तर्फबाट एकपटक नेताहरूलाई सम्झाउने आफ्नो धर्म भएको बताएका छन् । ‘जनादेशलाई सम्मान गरेर जनताको मन जित्ने–नजित्ने यहाँहरूको स्वविवेक र कर्म हो’ उनले भनेका छन् ।

देशलाई लोडसेडिङ मुक्त गराउनमा कुलमानलाई साथ दिने कर्मचारी, मन्त्री लगायत सबैलाई जनताले धन्यवाद दिएको उल्लेख गर्दै उनले ‘एक जनालाई मात्र जस दियो हामीलाई दिएन भनी नसम्झिन’ आग्रह गरेका छन् ।

सम्बन्धित समाचार