नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० भदौ ।

भारतले प्याजको निकासीमा रोक लगाउने निर्णय गरेको भोलिपल्ट नेपाली बजारमा प्याज पाइन छाडेको छ । चाडबाड नजिकिएको बेला भारतले प्याजको निकासी रोकेपछि बजारमा प्याज अभाव शुरू भएको हो । भारतको केन्द्रीय सरकारले हिजो एक सूचना जारी गर्दै प्याजको निकासी प्रतिबन्ध लगाएको हो । भारतीय उद्योग तथा आपूर्ति मन्त्रालयले जारी गरेको सूचना पाउने वित्तिकै व्यापारीहरूले प्याज लुकाउन थालेका छन् ।
यस्तै, प्याजको मूल्य समेत एकैदिनमा आकाशिएको छ । हिजो कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याजको होलसेल मूल्य ६० रूपैयाँ थियो । भारतले प्रतिबन्ध लगाउनासाथ मूल्य बढेर आज किलोको ७५ रूपैयाँ पुगेको छ । यस्तै, आज खुद्रा पसलेहरूले ९० रूपैयाँसम्म लिएका छन् । दुई दिनअघि, २८ भदौमा प्याजको होलसेल मूल्य ५९ रूपैयाँ थियो ।
भारतले निकासी रोकेपछि बजारमा प्याजको कृत्रिम अभाव भएको छ । होलसेलबाट प्याज आउन छाडेको खुद्रा व्यापारीहरूले बताएका छन् । नेपाल प्याजमा परनिर्भर छ र बजारको माग भारत र चीनबाट आउने प्याजले धान्दै आएको छ । तर, दशैंको मुखैमा प्याजको निर्यातमा प्रतिबन्ध लाग्दा अभाव हुने निश्चित जस्तै बनेको हो ।
बागबजारका खुद्रा व्यापारी हरी थापाले कालीमाटीको होलसेल बजारबाटै प्याज आउन छाडेको दाबी गरे । उनले भने, ‘यसअघि ल्याउँदै आएको होलसेल बजारमा प्याज पाइन छाडेको छ । उतैबाट नआएपछि हाम्रोमा कसरी पाउने ?’
कालीमाटी फलफूल तथा तरकारी बजारका उपनिर्देशक विनय श्रेष्ठले भारतले प्रतिबन्ध लगाएपछि मूल्य उकालो लागेको बताए । उनले भने, ‘भारतमा प्याजको अभाव हुँदा मूल्य बढ्न थालेपछि प्रतिबन्ध लगाएको छ। उता प्रतिबन्ध लगाउँदा नेपालको बजारमा असर पर्छ ।’
उनका अनुसार कालीमाटीको होलसेल बजारमा समेत यतिबेला सुकेको प्याज पाउन छाडेको छ । भारतबाट आउन छाडेकाले नेपालमा नपाइएको उनको दाबी छ ।
