नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदाै ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबारका लागि सचिवालय बैठक डाकेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बिहान ११ बजेलाई डाकिएको उक्त बैठकमा नयाँ मन्त्रीहरुको नाम फाइनल गरिने स्रोतले बतायो ।
पार्टीभित्रको आन्तरिक शक्ति समीकरण मिलाउनुपर्ने भएकोले सचिवालयमार्फत नै मन्त्रीहरु छान्दा विवाद नआउने भएकोले अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड सचिवालय बैठकमार्फत नै मन्त्रीको टुङ्गो लगाउने निष्कर्पामा पुगेका हुन् । त्यसो त ओली र प्रचण्डबीच मन्त्रीमण्डल पुनर्गठन गर्ने कि बिस्तार गर्ने भन्नेमा पनि विवाद छ । सो विषयमा पनि सचिवालयमार्फत नै समाधान खोज्नेमा उनीहरु सहमत भएका छन् ।
ओलीले तत्काल २ मन्त्रालय थप्ने र खाली ३ मन्त्रालय गरी ५ मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने बताएका छन् । उनले मन्त्रीमण्डल पुर्नगठन नगरी हाल विस्तार मात्र गर्ने बताउँदै आएका छन् । यता प्रचण्ड भने कम्तिमा पनि १० मन्त्रीहरुलाई बिदाई गरेर १३ जना नयाँ मन्त्री नियुक्त गर्ने बताउँदै आएका छन् । यसको टुङ्गो आगामी शुक्रबार बस्ने सचिवालयले लगाउने बताइएको छ ।
ओली प्रचण्डबीच आज भएको भेटवार्तामा शुक्रबार सचिवालय बैठक बोलाउने सहमति भएको थियो । साथै सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा विहीबार छलफल गर्ने निर्णय पनि आजको छलफलमा भएको छ । विहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अध्यक्षद्धयको बैठक बस्ने र सो बैठकले संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति गर्ने तयारी छ ।