नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदाै ।
नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी युवाको काँधमा रहेको बताएका छन् । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले २३ औँ गणेशमान सिंह स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘गणेशमानजीको त्याग, समर्पण, सङ्घर्षशीलता र आजको युवा’ विषयक भर्चुअल कार्यक्रममा उनले लोकतन्त्रको संरक्षण गर्ने जिम्मा कांग्रेस र युवाको काँधमा रहेको बताए ।
पूर्वमन्त्री जोशीले राजनीतिक नेतृत्वमा नैतिकता र इमान्दारिता आवश्यक रहेको बताउँदै नैतिकता र इमान्दारिता गुमाउँदा लामो सङ्घर्षबाट उपलब्ध गरेको राजनीतिक व्यवस्था नै गुम्ने खतरा रहेको उल्लेख गरे । प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेता जोशीले निष्ठा, इमान्दारिता र लोकतन्त्रप्रतिको प्रतिवद्धता गणेशमान सिंहमा रहेको बताए । प्रदेशसभा सदस्य जीवन डङ्गोलले राणा विरोधी आन्दोलन गरेर जनताको अधिकारका लागि लड्ने नेता स्वर्गीय सिंह भएको उल्लेख गरे । मूल्य र मान्यतामा आधारित राजनीतिक गर्ने नेता स्व सिंह भएको उनको भनाई थियो ।
कार्यक्रममा काँग्रेस युवा नेताहरु मनोजमणि आचार्य, जन्मजय तिमल्सेना, रत्न कार्की, डिल्लीराम सुवेदी, प्रतिमा गौतमलगायतले जनताको हक अधिकारका लागि इमान्दारीपूर्वक लड्ने नेता सिंह भएको उल्लेख गरे। गणेशमान सिंहको जीवनीबाट युवा नेताले पाठ सिक्नुपर्ने उनीहरुको भनाई थियो ।