हराएको फोनमा ‘बाँदरको सेल्फी’ भेटिएपछि

मलेशियामा एक युवकले आफ्नो हराएको फोन फेरि भेटिँदा त्यसमा बाँदरले खिचेका सेल्फी र भिडिओ फेला परेको बताएका छन् । जाक्रिद्ज रोद्जी नामक २० वर्षीय ती विद्यार्थीले बाँदरले फोन खान खोजे जस्तो देखिने भिडिओसहित सामग्रीहरू ट्विटरमा हालेपछि ती अहिले सामाजिक सञ्जालमा व्यापक भएका छन् ।

उनका अनुसार उनले शनिवार बिहान उठेपछि फोन हराएको थाहा पाएका थिए । घटना दक्षिणी राज्य जोहोरको बाटु पाहाटमा भएको हो । बीबीसीलाई उपलब्ध गराइएको एउटा भिडिओमा त्यही दिन दिउँसो २:०१ बजे एउटा बाँदरले फोन खान खोजे जस्तो देखिन्छ ।



त्यसमा उक्त बाँदरले फोनको क्यामरामा ट्वाल्ल परेर हेरेको र हरिया पातको पृष्ठभूमिमा काग कराएको सुनिन्छ । फोनमा उक्त बाँदरका र रूख तथा पातका धेरै तस्बिरहरू छन्। रोद्जीले आइतवार दिउँसोसम्म फोन नभेटिएको तर आफ्ना पिताले घरबाहिर एउटा बाँदर देखेपछि आफ्नो नम्बरमा फोन गर्दा घरपछाडि जङ्गलमा घण्टी बजेको सुनिएको बताए ।

खोज्दै जाँदै हिलो लागेको फोन पामको रूखमुनि पातहरूले छोपिएको अवस्थामा भेटिएको थियो । एक आफन्तले फोनमा चोरको तस्बिर होला भनेर ठट्टा गरेको सम्झिँदै फोन खोलेर हेर्दा बाँदरका तस्बिरहरू भेटिएको उनी सुनाउँछन् । बाँदरले सेल्फी खिचेको विषय समाचारमा आएको यो पहिलो पटक भने हैन । सन् २०१७ मा एक ब्रिटिश फोटोग्राफरले बाँदरले खिचेको विषयमा मुद्दा खेप्नुपरेको थियो । सन् २०११ मा इन्डोनेशियाको जङ्गलमा डेभिड स्लेटरको क्यामरामा एउटा बाँदरले आफ्नो फोटो खिचेको थियो । उक्त तस्बिरको सर्वाधिकार आफ्नो हुनुपर्ने उनको दाबी थियो ।

तर पशुअधिकारवादी समूह पेटाले त्यो तस्बिरमा उक्त बाँदरको अधिकार हुने तर्क गरेको थियो । अमेरिकाको एउटा अदातलले बाँदरका लागि कपीराईट संरक्षण कानुन लागु नहुने निष्कर्ष निकाल्दै पेटाले हालेको मुद्दा खारेज गरिदिएको थियो । पछि स्लेटरले उक्त तस्बिरबाट सङ्कलन हुने रकमको २५ प्रतिशत रकम उक्त बाँदर र इन्डोनेशियामा उक्त प्रजातिका बाँदरको संरक्षणलाई दिने सहमति व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार