नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असोज ।

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभाको सदस्यको शपथ लिएका छन् । बिहीबार अपरान्ह सिंहदरबारस्थित संसद सचिवालयमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई शपथ खुवाएका हुन् । प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ पराजित भएका गौतम पार्टीभित्रको लामो राजनीतिक रस्साकस्सीपछि राष्ट्रिय सभामा पुगेका हुन् ।
सत्तारुढ नेकपाका उपाध्यक्ष गौतमलाई केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई मनोनीत गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम प्युठान स्थायी घर भएका गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी हुन् । तत्कालिन अर्थमन्त्री युवराज खतिवडा सरकारबाट बाहिरिएसँगै राष्ट्रिय सभा छिर्ने गौतमको बाटो तय भएको थियो ।
