आज संविधान दिवस, प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

नेपालको संविधान-२०७२ जारी भएको पाँच वर्ष पूरा भएको छ । नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाले २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । राष्ट्रपतिबाट जारी भएको संविधानले पाँच वर्ष पूरा भए पनि त्यसबेला असन्तुष्ट जनाएका राजनीतिक दलहरूका माग अझै पूरा भएका छैनन् ।

योबीचमा संविधानले परिकल्पना गरेको सङ्घीय गणतान्त्रिक राज्य व्यवस्था स्थापित भएर प्रदेश र स्थानीय सरकारहरु निर्माण भएका छन् । तर, पनि जनताको जीवनस्तरमा भने उल्लेख्य रुपमा परिवर्तन आउन सकेको छैन । नेपाली जनताको बलिदान, त्याग र तपस्याको प्रतिफलस्वरुप करिब ६५ वर्षको लामो प्रतिक्षापछि नेपालमा लोकतान्त्रिक गणतान्त्रिक राज्यव्यवस्थासहितको संविधान जारी गर्ने कामले सफलता पाएको थियो ।



निकै लामो समयको प्रजातान्त्रिक प्रक्रिया र नागरिकको मेहनत र संघर्षबाट बनाएको नेपालको वर्तमान संविधान २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा। रामवरण यादवले संविधान सभाबाट जारी गरेका थिए । त्यही संविधान जारी गरेको दिनको सम्झनामा असोज ३ गतेलाई सरकारले संविधान दिवसका रुपमा मनाउने गरेको छ ।

प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिने भएकाले विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ ।

सम्बन्धित समाचार