नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असाेज ।

आज पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शनिबार बिहान ६ बजे प्रकाशन गरेको ‘मौसम पूर्वानुमान बुलेटिन’अनुसार प्रदेश ५ र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ भने बाँकी प्रदेशका पनि एक, दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं ५ का एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।
वर्षाको करण बाढी पहिरोको डर हुने हुँदा भोलि बिहानसम्म सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
