नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असोज ।
कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ । यो कुल संक्रमितमध्ये ० दशमलव ६४ प्रतिशत हो । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।
यसअघि शुक्रबार (हिजो) ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो । शुक्रबार मोरङ र काठमाडौँका २/२, ललितपुर, भक्तपुर र नवलपरासीका १/१ जनाले ज्यान गुमाएका थिए । बिहीबार कोरोनाका कारण नेपालमा ४ जनाको मृत्यु भएको थियो । त्यसअघि बुधबार कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कुल संक्रमितको ७२ प्रतिशत अर्थात ४५ हजार २ सय ६७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार ४ सय ४७ जना कोरोना मुक्त भएका हुन् । हाल देशभर १७ हजार १ सय २९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने हाल ७ हजार ७ सय ३५ जना क्वारेन्टाइनमा रहेका छन् ।