नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ असाेज ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्ने भएकाे छ । हिजाेकाे पार्टी कार्यलय पेरिसडाँडामा बसेकाे बैठकले मन्त्रिपरिषद् पुर्नगठनको लागि बाटो खोल्नेपछि, आजकाे बैठकले नयाँ मन्त्रीको नाम पनि सिफारिस गर्ने भएको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कम्तिमा १० मन्त्रीहरूलाई बिदाइ गर्ने सहमति भएकोले आजको बैठकले १३ जना मन्त्री छान्ने स्रोतको दाबी छ । ३ मन्त्रालय यसअघि देखि नै खाली रहेकोले नेकपाको १३ जना नेताले मन्त्री बन्ने अवसर पाउने भएका हुन् ।
ओली र प्रचण्डबीच नयाँ मन्त्रीको मोटामोटी खाका तयार भैसकेको छ, तर प्रतिनिधिसभा निर्वाचन हारे पनि हाल राष्ट्रियसभामा रहेका पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको बारेमा भने सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री ओली उनीहरूलाई सरकारमा नलैजाने र पार्टीमै थप जिम्मेवारी दिनुपर्ने बताउँदै आएका छन् । तर प्रचण्ड भने उनीहरूलाई पनि सरकारमा लगेमा सरकार थप मजबुत हुने बताउँदै आएका छन् । स्वयं गौतम र श्रेष्ठ पनि सरकारमा जान लालायित भएको र सचिवालयमा पनि उनीहरूलाई सरकारमा लानुपर्ने मत बलियो रहेकोले उनीहरूले उपप्रधानसहित आकर्षक मन्त्रालय पाउने निश्चितप्राय छ ।
यता अर्थ मन्त्रालयको जिम्मेवारी आफ्ना विश्वासिला नेतालाई सुम्पन चाहेका ओलीले महासचिव विष्णु पौडेललाई सो को जिम्मेवारी दिने तयारी गरेका छन् । त्यसो त उपाध्यक्ष गौतमले अर्थमा दाबी गर्दै आएका छन्, तर दुई वर्ष पार गरेका मन्त्रीलाई बिदाइ गर्दा गृहमन्त्री रामबहादुर थापाको पनि बिदाइ हुने भएकोले गौतमलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिने सम्भावना छ । त्यसैगरी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको ठाउँमा नारायणकाजी श्रेष्ठलाई लैजाने तयारी भएको स्रोतको दाबी छ ।
यता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सञ्चार मन्त्रालयमा सार्ने तयारी गरिएको छ । सरकारले यसअघि नै उनलाई प्रवक्ता तोकिसकेको छ । सञ्चार मन्त्री नै प्रवक्ता रहने व्यवस्था भएकोले नै उनलाई प्रवक्ताको जिम्मेवारी दिइको थियो । उनी सञ्चारमा आएपछि खाली हुने परराष्ट्रमा डा. भीम रावललाई जिम्मेवारी दिने तयारी छ । यद्दपि भीम रावलले उपप्रधानमन्त्रीसहितको जिम्मेवारी दिएमात्र सरकारमा सहभागी हुने अडान राखेको स्रोतको दाबी छ । यसबारे पनि भाेलि बस्ने सचिवालयले निर्णय लिने भएको छ ।
त्यसैगरी सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, बेदुराम भुषाल, विरोध खतिवडा, खगराज अधिकारी, महेश बस्नेतलगायतलाई मन्त्री बनाउने तयारी ओली प्रचण्डको रहेको छ । यसमा आज बस्ने सचिवालयले केही हेरफेर गर्न सक्ने बताइएको छ । यता दुई कार्यकाल प्रतिनिधिसभामा निर्वाचित भएर पनि अवसर नपाएका गणेश पहाडी, यज्ञराज सुनुवार, विजय सुब्बा, गणेश ठगुन्ना, विशाल भट्टराई, राजबहादुर बुढा, प्रेम आलेमध्येबाट केहीले अवसर पाउन सक्ने स्रोतको दाबी छ ।
हाल मन्त्री रहेका ज्ञवालीसहित, योगेश भट्टराई, डा. शिवमाया तुम्बाहाङ्फे, घनश्याम भुषाल, वसन्त नेम्वाङको पद सुरक्षत देखिएको छ । उनीहरूबाहेकका कम्तिमा दश मन्त्रीको बिदाइ हुने निश्चित रहेको स्रोतको दाबी छ । त्यसैगरी तिहारपछि भने कम्तिमा पनि ५ मुख्यमन्त्री पनि फेर्नेमा ओली प्रचण्ड सहमत देखिएका छन् । प्रदेश ६ का शंकर भण्डारी र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरूङबाहेका अन्य मुख्यमन्त्रीको पद पनि धरापमा रहेको स्रोतको दाबी छ ।