नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ असाेज ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको छ । पेरिसडाँडामा बसेको बैठकले नयाँ मन्त्री छान्ने बताएपनि आज त्यसबारे कुनै निर्णय भएन । भोलि पनि बैठक बसेर नयाँ मन्त्री छानिने नेकपा स्रोतले बतायो ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई प्रभावकारी बनाउने लक्ष्यलाई अघि बढाउने सन्दर्भमा विभिन्न विकल्पमा छलफल भएको बताए । उनका अनुसार व्यक्तिका नामका विषयमा छलफल भएको छैन । कसलाई के का आधारमा मन्त्री बनाउने भन्ने विषयमा छलफल भएको भए पनि व्यक्तिका बारेमा भोलि निर्णय हुने उनले बताए ।
उनका अनुसार आजको बैठकमा मन्त्रिपरिषद्को पुनर्गठनसँगै संवैधानिक नियुक्तिको आधार, बाँकी रहेका सांगठनिक एकता टुंग्याउने र विविध कार्यसूचीमा छलफल भएको थियो ।
भोलि १ बजे पेरिसडाँडामै सचिवालय बैठक बस्नेछ । स्रोतका अनुसार कम्तिमा १० जना मन्त्रीको विदाई गरेर खाली रहेका ३ मन्त्रालयसहित १३ जना नयाँ मन्त्री छान्ने नेकपाको तयारी रहेको छ । पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सरकारमा लाने नलाने भन्ने विषय पनि भोलिको बैठकले तय गर्ने भएको छ ।