नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असोज ।
भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा एक श्रीमानले आफ्नी गर्भवती श्रीमतीको धारिलो हतियारले यसकारण हमला गरे किनभने उनी गर्भमा हुर्किरहेको शिशु छोरा हो वा छोरी भनेर हेर्न चाहन्थे । घाइते महिलालाई गम्भीर अवस्थामा दिल्लीको एक अस्पतालमा उपचार चलिरहेको छ र प्रहरीले हमलाकर्ता श्रीमानलाई पक्राउ गरेको छ ।
बदायूंका एसएसपी संकल्प शर्माले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘घाइते महिलाको भाइको तर्फबाट ऊजुरी पाइएको छ र त्यसै आधारमा मुद्दा दर्ता गरेर अभियुक्तलाई गिरफ्तार गरिएको छ । यद्यपि, सबै पक्षसँग घटनाबारे जानकारी लिइँदैछ र त्यसैको आधारमा थप कारवाही गरिनेछ ।’
बदायू जिल्लाको सिभिल लाइन्स थाना क्षेत्रको नेकपुर मोहल्लेमा बस्ने पन्नालालले आफ्नी गर्भवती श्रीमती अनिताको पेट हँसियाले काटिदिएको आरोप छ । अनिताको परिवार अनुसार पन्नालाल श्रीमतीको गर्भमा रहेको छैटौं सन्तान छोरा हुन् वा छोरी भनेर हेर्न चाहन्थे । पन्नालालकी श्रीमतीकी बहिनी रेखाले मिडियासँगको कुराकानीमा पन्नालालका पाँच छोरी छन् र छैटौं सन्तान पनि छोरीको रुपमा जन्मियोस् भनेर उनी चाहँदैनन् ।
रेखा भन्छिन्, ‘पन्नालालको आफ्नी श्रीमतीसँग यसबारे धेरैजसो झगडा भइरहन्थ्यो । उनले अनितामाथि कुटपिट पनि गर्ने गर्दथ्यो । शनिबार पनि उनले अनितालाई निर्घात कुटे र हँसियाले हमला गरे ।’ अनिताका भाइ राजिवका अनुसार बरेलीमा डाक्टरको सल्लाहमा अनितालाई आइतबार दिल्ली लगिएको छ किनभने उनको स्थिती गम्भीर छ । राजिव पनि उनीसँगै छन् ।