नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असोज ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार ५३३ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जनासहित देशभर ४१८ महिला र ७३६ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप १ हजार ५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २३८ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७२ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १७ हजार ६११ रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये होम आईसोलेसनमा ८ हजार ६९० जना र संस्थागत आईसोलेसनमा ८ हजार ९२१ जना छन् । ती मध्ये १९६ जना संक्रमितको आईसियु र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
