नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असाेज ।
नयाँ मन्त्री छान्ने एजेण्डामा छलफल गर्न साेमबार बस्ने भनिएको नेकपा सचिवालय बैठक अन्तिम समयमा एकाएक रोकियो । प्रधानमन्त्री केपी ओलीले सचिवालयले अनावस्यक हस्तक्षेप गरेको भन्दै बैठक रोक्न प्रचण्डलाई आग्रह गरेका थिए । ओलीको आग्रहपछि सचिवालय बैठक स्थगित गरेर प्रचण्ड ओलीलाई भेट्न बालुवाटार हानिएका थिए ।
लामो छलफलपछि ओली र प्रचण्ड सचिवालयको जारी बैठक मंगलबार सम्पन्न गर्न सहमत भएका छन् । मंगलबारको बैठकमा मापदण्डअनुसार सहमतिमै नयाँ मन्त्री छान्न सहयोग गर्ने प्रचण्डले बताएपछि ओली बैठकमा उपस्थित हुन सहमत भएका थिए ।
यसअघि आइतबारको बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले सबै मन्त्रीको राजीनामा मागेर नयाँ मन्त्री छान्नुपर्ने बताएपछि ओली रुष्ट भएका थिए । साथै पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको जिम्मा दिनुपर्ने दवाव परेपछि साेमबारको बैठक स्थगित गर्न ओलीले आग्रह गरेको बुझिएको छ ।
साेमबार ओली र प्रचण्डबीच भएको छलफलमा मन्त्रालयको वाँडफाडको जिम्मा ओलीलाई नै दिने सहमति भएको स्रोतको दाबी छ । प्रचण्डले कुन नेतालाई कुन मन्त्रालय दिने भन्ने जिम्मा ओलीलाई दिएपछि उनी मंगलबार दिउँसो १ बजे बालुवाटारमा सचिवालय बैठक बोलाउनेबारे सहमति जनाएका थिए । यसअघि सचिवालय बैठक जनसंगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको थियो । आइतबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे नीतिगत छलफल मात्रै भएको थियो ।
आज बस्ने सचिवालय बैठकले सरकारबाट फिर्ता बोलाईने कम्तिमा १२ मन्त्री र नयाँ नियुक्त गरिने कम्तिमा १५ जना मन्त्रीको नाम टुङ्ग्याउने तयारी गरिएको छ । १२ मन्त्रीलाई राजीनामा गराउने र खाली ३ मन्त्रालयसहित १५ जना नयाँ नेतालाई मन्त्रीमा नियुक्ति गर्ने ओली प्रचण्डको तयारी रहेको छ ।