नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असाेज ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह साढे १२ बजे बस्ने बैठकले नयाँ मन्त्रीको टुङ्गो लगाउने भएको छ । थप गृहकार्य गर्न सोमबारका लागि तय बैठक मंगलबारका लागि सारिएको थियाे ।
यसअघि गत आइतबार पार्टी कार्यलय पेरिडाँडामा बसेको बैठकले विभिन्न चार कार्यसूची तय गरेको थियो। तीमध्ये पहिलो दिन मन्त्रिपरिषद् पुर्नगठनबारे नीतिगत छलफल भएको थियो। बाँकी कार्यसूचीभित्रका एजेण्डामाथि आजको बैठकमा छलफल जनाइएको छ।
सोमबार प्रधानमन्त्री नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सचिवालय बैठक समापन गर्नेगरी तयारी गर्ने सहमति भएको थियो । मंगलबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक तथा संवैधानिक नियुक्तिका मापदण्ड, पार्टी एकताका बाँकी काम लगायत बिषयको टुंगो लगाइने भएको छ ।
स्रोतका अनुसार आज पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहित सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, बेदुराम भुषाल, विरोध खतिवडा, खगराज अधिकारी, महेश बस्नेतलगायतलाई मन्त्री बनाउने तयारी ओली प्रचण्डको रहेको छ । यसमा आज बस्ने सचिवालयले केही हेरफेर गर्न सक्ने बताइएको छ । यता दुई कार्यकाल प्रतिनिधिसभामा निर्वाचित भएर पनि अवसर नपाएका गणेश पहाडी, यज्ञराज सुनुवार, विजय सुब्बा, गणेश ठगुन्ना, विशाल भट्टराई, राजबहादुर बुढा, प्रेम आलेमध्येबाट केहीले अवसर पाउन सक्ने स्रोतको दाबी छ ।
हाल मन्त्री रहेका ज्ञवालीसहित, योगेश भट्टराई, डा. शिवमाया तुम्बाहाङ्फे, घनश्याम भुषाल, वसन्त नेम्वाङको पद सुरक्षत देखिएको छ । उनीहरूबाहेकका कम्तिमा दश मन्त्रीको बिदाइ हुने निश्चित रहेको छ । त्यसैगरी तिहारपछि भने कम्तिमा पनि ५ मुख्यमन्त्री पनि फेर्नेमा ओली प्रचण्ड सहमत देखिएका छन् । प्रदेश ६ का शंकर भण्डारी र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरूङबाहेका अन्य मुख्यमन्त्रीको पद पनि धरापमा रहेको स्रोतले बतायो ।