नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असोज ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन चुनाह चिन्हमा सम्झौता गर्नुपरेको स्पष्ट पारेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख २५–२८ मा महाधिवेशन गर्ने निर्णय गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
श्रेष्ठका अनुसार बैठकले राप्रपाको विधानलाई कायम गर्दै आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले लामो समयदेखि विवादमा रहेको चुनाव चिन्ह पनि टुंग्याएको छ। नेता श्रेष्ठका अनुसार राप्रपाको झण्डामा गाई हुनेछ भने पार्टीको चुनाव चिन्ह हलो हुने बैठकले निर्णय गरेको छ ।
राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच सोमबार पार्टीको चुनाव चिन्ह हलो कायम गर्ने सहमति बनेको छ । सुरुमा राप्रपाको चुनाव चिन्ह हलो नै भए पनि पछि विभाजित राप्रपा नेपालले गाईलाई चुनाव चिह्न बनाएको थियो । हिन्दू राष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति चुनाव चिन्ह गाई नै उपयुक्त हुने भए पनि अरु नेताले नमान्दा चिह्न छाड्नु परेको बताएका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा थापाले लेखेका छन्, ‘हिन्दु राष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनावचिन्ह हो । तर, पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो । परिस्थितिजन्य यो वाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी–शुभचिन्तकहरुमा अपिल गर्दछु । अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागौं ।’
हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति 'गाई' उपयुक्त चुनावचिन्ह हो।तर,पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो।परिस्थितिजन्य यो वाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी/शुभचिन्तकहरुमा अपिल गर्दछु।
अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागौं pic.twitter.com/ekzcWVuMOI— Kamal Thapa (@KTnepal) September 22, 2020
त्यसअघि थापाले अर्का दुई अध्यक्षप्रति लक्षित गरी केही व्यक्तिको हठ र तुष्टीकरणका लागि चिनो त्याग्नु परेको पनि उल्लेख गरेका थिए । थापाले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘रगत पसिनाको धरातलमा गाँसिएको भावना र कायम गरिएको ‘चिनो’ तर्क र आधार विना केही व्यक्तिहरूको हठ तुष्टिकरण र प्रतिष्ठा राखिदिन परित्याग गर्नुपर्ने विवशताको पिडा स्वभावतः असहज हुन्छ ।’ यसअघि सोमबार अध्यक्षत्रयले छ महिना पहिले एकता भएको राप्रपाको चुनाव चिन्ह् हलो राख्न सैद्धान्तिक सहमति गरेका थिए ।
त्यसअघि राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको छुट्टाछुट्टै बैठक बसेको थियो । मंगलबार कार्यसम्पादन समितिको संयुक्त बैठक बस्नेछ र दल दर्ताको निर्णय गर्नेछ । गाई साविक थापा नेतृत्वको राप्रपा तथा हलो साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चुनाव चिह्न हो । राप्रपाले पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र र साझा संस्थाको रुपमा राजसंस्था रहने व्यवस्था गर्ने जनाएको छ ।
