नेकपा सचिवालय बैठक सकियाे, मुख्य एजेण्डा मन्त्रिपरिषद पुनर्गठनबारे कुनै छलफल भएन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (मंगलबार) को सचिवालय वैठक मुख्य एजेण्डा मन्त्रिपरिषद पुनर्गठनको विषयमा नभई अन्य विषयमा मात्र छलफल र निर्णय भएका छन् । आज मन्त्रिपरिषद पुनर्गठनका बारेमा छलफल हुने भनिएको भए पनि दोस्रो एजेण्डाको रुपमा रहेको संवैधानिक आयोगका पदाधिकारी नियुक्तिबारेमा छलफल र निर्णय गर्दै सकिएको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले संवैधानिक परिषद्को बैठक राखेर आयोग पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको जानकारी दिएका छन् । आजको वैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल नभएको बताएका छन् । ‘मन्त्रिपरिषद् पुनर्गठनका बारेमा अस्ती भएको बाहेक थप छलफल भएको छैन’, प्रवक्ता श्रेष्ठले भने । यता सचिवालय बैठकले पार्टीको सांगठनिक एकताको ठोस प्रस्ताव १० दिनभित्र ल्याउने जिम्मा दुई अध्यक्ष र महासचिवलाई दिएको छ ।



पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै महासचिव विष्णु पौडेललाई सांगठनिक एकताको ठोस प्रस्ताव ल्याउनका निम्ति १० दिनको म्याद दिएको हो ।

‘सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्न गर्ने सन्दर्भमा १० दिनभित्र अध्यक्ष र महासचिवले ठोस प्रस्ताव सचिवालयमा प्रस्तुत गर्ने निर्णय भएको छ’, उनले भने, ‘त्यसका आधारमा सांगठनिक एकीकरणको विषयमा टुंगो सचिवालयले लगाउने छ ।’

बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे पनि कुनै छलफल भएन ।

सम्बन्धित समाचार