नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असोज ।
बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार १५४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप ८२३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७२ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १८ हजार १४२ रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये होम आईसोलेसनमा ८ हजार ९४९ जना र संस्थागत आईसोलेसनमा ९ हजार १९३ जना छन् । ती मध्ये २२३ जना संक्रमितको आईसियु र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार १७१ जना रहेका छन् ।