नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असाेज ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन बसको डा.गोविन्द केसीमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्दै आलोचना सुरू भएको छ । जुम्लामा १९औं अनसन बसेका केसी काठमाडौं आइपुगेका बेला त्रिभुवन विमानस्थलमा प्रहरीले उनीमाथि दुव्र्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा प्रहरी र सरकारको आलोचना भइरहेको छ ।
आफू त्रिवि शिक्षण अस्पतालमा पुगेर अनसनलाई जारी राख्न चाहेका डा. केसीलाई प्रहरीले लछारपछार गर्दै उनी बसेको गाडीबाट निकालेको भिडियोमा देख्न सकिन्छ । प्रहरीले केसीलाई बल प्रयोग गरेर गाडीभित्रबाट निकालेपछि उनले ओली सरकारविरूद्ध नारासमेत लगाएका थिए । डा. केसीलाई उनको इच्छाविरूद्ध प्रहरीले जबरजस्ती ट्रमा सेन्टर पुर्याइयो । कुनै निरङ्कुश तन्त्रको झल्को दिने गरी आठ दिनदेखि अनसनमा बसेका कमजोर डा. केसीलाई लछारपछार गर्दै एम्बुलेन्सबाट झारेर उनले त्रिवि शिक्षण अस्पतालमा जाने बताइरहँदा पनि प्रहरीले उनलाई जबरजस्ती ट्रमा सेन्टरभित्र लगेको दृश्यले आम मानिसलाई भावुक बनायो । यो अर्को कुरा हो कि डा. केसीले ट्रमा सेन्टरमा उपचार गर्न नमानेपछि र जनस्तरबाट प्रहरीको रवैयाको घोर विरोध गरेपछि उनलाई त्रिवि शिक्षण अस्पताल नै पुर्याइयो ।
‘कति दिनदेखिको भोको सत्याग्रहीप्रति लोकतन्त्र भनिने व्यवस्थामा गरिने व्यवहार के यस्तै हो ? यसरी हामी कता जाँदैछौँ ?’ ट्वीटमा पत्रकार प्रदीप बस्याल प्रश्न गरेका छन् । सरकारले डा. केसीका जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न सिक्नुपर्ने सुझाव दिदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘यो राजाको निरंकुश पञ्चायती शासन हो कि ओलीको ‘कमाउनिष्ट’ शासन हो ?’ भन्दै प्रश्न गरेका छन् । उनले ट्वीटमा उक्त भिडियो सेयर गर्दै स्वास्थ्य क्षेत्रको सुधारका निम्ति डा. केसीले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गर्नु बताएका छन् ।
प्रहरी आक्रामक !
कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको काठमाडौं उपत्यकामा पछिल्लो समय दैनिक जसो सडकमा दर्जनौं प्रर्दशन भइरहेका छन् । सडकमा हुने गरेका यस्ता प्रर्दशनहरू अधिकांश सरकार लक्षित देखिन्छन् । यसरी सडकमा हुने गरेका प्रदर्शन रोक्न प्रदर्शनकारीमाथि प्रहरी प्रशासन पछिल्लो समय निकै आक्रामक रूपमा प्रस्तुत हुन थालेको छ । प्रहरीले प्रदर्शन गर्नेहरूलाई मात्र नभई सडक पेटीमा हिँडिरहेका पैदल यात्रुसमेतलाई कडाइ गरेको पछिल्ला केही घटनाहरूले देखाउँछ ।
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्तिको माग राख्दै दैनिक जसो सकडमा स्वतन्त्र नागरिकहरूले प्रदर्शन गरिरहेका छन् । केही दिनअघि घिसिङलाई पुन नियुक्तिको माग गर्दै माइतीघरमा शान्तिपूर्ण प्रदर्शनमा जान लागेका एक युवालाई प्रहरीले बबरमहलमै निर्मम ढंगले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । प्रहरीले ती व्यक्तिमाथि कुटपिटको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको चर्को आलोचनासमेत भएको थियो । उक्त घटनालाई लिएर प्रहरी प्रधान कार्यालयले छानविन गर्ने जनायो । उक्त घटनापछि गत शुक्रबार फेरि अर्को घटना भयो, जसमा प्रहरीको कुटाइले एक युवकको टाउको फुटेर रगताम्य भयोे । यी केही प्रतिनिधि घटनाहरू मात्र भए पनि पछिल्लो पटक यसरी नागरिक कुटिन थालेपछि प्रहरीको आलोचना पनि झनै बढेको छ ।