नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असोज ।

काठमाडौँबाट हेटौँडा जाँदै गरेको एक स्कार्पियो जिप पहिरोमा पुरिँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान काठमाडौँबाट हेटौँडा जाँदै गरेको बा १७ प ४८७४ नं को स्कार्पियो भीमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा पहिरोमा पुरिँदा चालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईन्द्रबहादुर रानाले अविरल वर्षाका कारण गुडिरहेको अवस्थामा एक्कासि माथिबाट पहिरो खस्दा स्कार्पियो पुरिएको र चालकको मृत्यु भएको बताए । उनले मृतक चालकको सनाखत नभएको जानकारी दिए ।
प्रवक्ता रानाका अनुसार सोही पहिरोमा परी अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेको नाम खुलेको छैन । उक्त पहिरोले काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बा ९७ प ४८५१ नं को मोरटरसाइकलमा आंशिक क्षति पुर्याउँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि काठमाडौंँ ल्याइएको प्रहरीले जनाएको छ।
