नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असोज ।

उत्तरी छिमेकी चीनले हुम्लामा नेपाली भूमिमा भवन बनाएपछि यतिबेला चौतर्फी आलोचना भइरहेको छ । केही समय अगाडि दक्षिणी छिमेकी भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर सरकारले नयाँ नक्सा जारी गरेको केही महिना बित्न नपाउँदै चीनले नेपाली भूमिभित्र भवन बनाएपछि चौतर्फी विरोध हुन थालेको हो ।
नेपाली भूमि भित्र भवन बनाएको तथा दश महिनादेखि नेपालसँग जोडिएका नाका नखोलेको भन्दै बुधबार काठमाडौंस्थिति चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । प्रदर्शनकारीले मिचिएको नेपाली भूमि फिर्ता गर्नुपर्ने भन्दै ‘गो व्याक चाइना’ भन्दै नाराबाजी गरेका थिए ।
‘सीमा अतिक्रमण बन्द गर’, ‘मिचिएको नेपाली भूमि फिर्ता गर’, ‘चिनियाँ साम्राज्यवाद मुर्दावाद’, ‘सीमा नाका खुला गर’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका उनीहरूले चीनविरूद्ध प्रदर्शन गरेका हुन् ।
दर्जनौँको संख्यामा युवाहरू प्रदर्शन गर्दै चिनियाँ दूतावासअघि पुगेपछि उनीहरूलाई सुरक्षाकर्मीले रोकेका थिए । दूतावास क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
