नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असोज ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४९२ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा ५० थप जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय काठमाडौं लगायत देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ । त्यस्तै बितेको २४ घण्टामा नेपालमा थप १ हजार १७२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार ४४९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनासहित देशभर ४२६ महिला र ७४६ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप १ हजार ८९३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७३.७ प्रतिशत हो ।
