नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ असोज ।

मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीरपरूपले प्रश्न उठेको छ । हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद रङ्गमती शाहीले डोजरको जथाभावी प्रयोगले गाउँबस्तीमा एकपछि अर्को गर्दै पहिरो गई सन्त्रास बढाएको हुँदा यसलाई कसरी नियन्त्रण गर्ने भन्ने अहिले ठूलो चिन्ताको विषय बनिरहेको बताइन् ।
प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा सांसद शाहीले भनिन्, ‘पहिरोबाट यस वर्ष ठूलो जनधनको क्षति भएको छ, विकासका नाममा वातावरण, भूक्षय, लागत एवं योजनाको लेखाजोखाबिना होडबाजीका रूपमा अन्धाधुन्ध पाखो र भित्तो भत्काउने कार्यले पहिरोका घटना ह्वात्तै बढेकोछ, यो ठूलो चिन्ताको विषय हो ।’ मुलुकका विभिन्न भागमा यस वर्षको पहिरोमा मात्रै सयौँले ज्यान गुमाउनुपरेको घटनाको विवरण सुनाउँदै उनले स्थानीय जनप्रतिनिधिकै संलग्नतामा यस्तो कार्य भइरहेको जिकिरसमेत गरिन् ।
अहिले गाउँगाउँमा विकासका लागि भनेर बाटो खन्ने लहर चलेको भए पनि योजनाबिना जथाभावी डोजरको प्रयोग गरी बाटो बनाउने अभियानले तत्कालका लागि विकास भएजस्तो देखिए पनि दीर्घकालीनरूपमा यो दीगो र जनताको हितमा नहुने समितिको ठहर छ । सिन्धुलीबाट प्रनितिधित्व गर्नुहुने सांंसद गणेशकुमार पहाडीले भने, ‘मुलुकमा अहिले ८५ हजार किलोमिटर ग्रामीण सडक बनेका छन् । एकाधभन्दा बाहेक कुनै पनि सडक वातावरणीय अध्ययन मूल्याङकन, योजना तथा लागतको लेखाजोखा बेगर खनिएको देखिन्छ । त्यस्ता सकडक नै अहिले पहिरोको जोखिम निम्त्याउने प्रमुख कारक बनिरहेका छन् ।’
स्थानीय तहका जनप्रतिनिधिले मात्र होइन, सांसदसमेतको मिलोमतोमा सस्तो लोकप्रियताका लागि टोलटोलमा सडक पुर्याउने होडबाजीले हरियाली भिरपाखा पहिरोमा परिणत भएको तथा जथाभावी भएको डोजर प्रयोगले सुन्दर गाउँबस्ती ढुङ्गाको बगरमा परिणत हुँदै गएको छ ।
सांसद पहाडी भन्छन्, ‘जनताको माग पनि जसरी भए पनि घर टोलमा बाटो आओस् भन्ने छ, जनप्रतिनिधिमा पनि आफूले किनेको मेसिनलाई नै काम दिएर पैसा कमाउँ भन्ने ध्याउन्न देखिन्छ, तर यस्तो गलत प्रवृत्तिलाई रोक्न वातावरणीय अध्ययन मूल्याङ्कनलाई अनिवार्य गर्नुपर्छ, अनि मात्र क्षति न्यूनीकरण गर्न सकिन्छ ।’
मुलुकका केही स्थानीय तहका जनप्रतिनिधि स्वयं तथा राजनीतिक दलका नेता तथा कार्यकर्ताकै मिलेमतोमा डोजर किन्ने र स्थानीय तहलाई भाडामा दिने गरेको पाइएको छ । डोजरका चालकलाई वरिष्ठ इन्जिनीयर बनाएर भकाभक खनिएका सडकको नतिजाका रूपमा धमाधम पहिरो गई मुलुकले ठूलो धनजनको क्षति व्यहोर्नु परिरहेको छ । साथै, जथाभावी डोजरको प्रयोगले वातावरण विनाश, भूक्षय र पानी परेपछि बगाउने भेलले बगाउने बाटोका कारण एउटै बाटोमा पटकपटक ठूलो परिमाणमा रकम रकम खन्याउनु पर्ने बाध्यता हुँदै आएको छ ।
भौगर्भिक र वातावरणीय अध्ययन बेगर सडक बनाउँदा माथिबाट खनिएको सडकले गाउँबस्तीमा पहिरो लडाउने गरेको तथा गाउँ तलबाट सडक खन्दा समग्र बस्तीनै जोखिमा पर्ने मात्र होइन, मुलुकको विकासलाई दीगोपन दिन नसक्ने विभिन्न घटनाक्रमले पुष्टि गर्दै आएको छ ।
सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने सांंसद शेरबहादुर तामाङले भने, ‘प्राकृतिकरूपमा जमेर बसेको माटोलाई भूकम्पले खलबल्याई दिएकोमा त्यसमाथि सडक खन्ने नाममा डोजर चलाएर जमिन थर्काउने काम हुँदा पहिरोको जोखिम थप निम्तिएको छ ।’
मुलुकमा बेरोजगारी बढेर भयावह स्थिति बनिरहेको सन्दर्भमा दिनभर कोदालो, पिक र सावेलजस्ता साना औजार चलाएर राति पेटभर खान पुग्ने तरिकाले ग्रामीण हरित सडक निर्माण गर्ने योजना बनाउन सके निम्न वर्गीय श्रमिकको दैनिक रोजीरोटी समेत खोसिने थिएन ।
