चीनले सीमा मिचेको छैन भन्नु हतारको टिप्पणी भएको कांग्रेसको ठहर

चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन भन्ने सरकारको भनाइप्रति प्रतिपक्ष दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले उक्त आपत्ति जनाएको हो । सरकारको यो टिप्पणीलाई कांग्रेसले हतारको टिप्पणीको संज्ञा दिएको छ ।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको समाचार बाहिरिएपछि बुधबार पत्रकार सम्मेलनमा चीनले भूमि अतिक्रमण नगरेको बताएका थिए । उनका अनुसार यस्तै कुरा योभन्दा पहिले पनि आएको र यो कुरामा सत्यता नभएको बताइएको छ ।



चीनले भूमि मिचेको नमिचेको भन्ने विषयमा अध्ययन टोलीको प्रतिवेदन आउनुपूर्व नै सरकारले भूमि मिचेको छैन भन्ने युक्तिसंगत नभएको कांग्रेसले बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएन ।’

सरकारको यो धारणालाई कांग्रेसले आधार बेगरको धारणा भनेको छ । ‘स्थलगत अध्ययनको धारणा आउनु पूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको हाम्रो ठहर छ ।’ विज्ञप्तिमा भनिएको छ ।

अध्ययनले सीमा मिचिएको भन्ने तथ्य नै ल्याएको खण्डमा चीनसँग तत्काल कूटनीतिक वार्तामार्फत यो समस्या समाधानका लागि पहल गर्न माग गरिएको छ । यसै क्रममा हुम्लामा नेपाल–चीन सीमा छुट्याउने ११ नम्बरको सीमा स्तम्भ (पिल्लर) भेटिएको छ । सो पिल्लर लामो समयदेखि बेपत्ता अवस्थामा रहेको थियो । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको हो ।

सम्बन्धित समाचार